काठमाडाैं - नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएकाे छ ।
गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनलाई काठमाडौँ ल्याएको हो ।
सोमबार तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन उनले अस्पतालबाट एम्बुलेन्समा आएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले चिकित्सकबाट काठमाडौँ लगेर उपचार गर्न सिफारिस भएपछि सरकारी वकिलसँगको परामर्शमा अध्यक्ष सिरोहियालाई काठमाडौँ पठाउने निर्णय भएको जानकारी दिए ।