काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपाली युवाका लागि वैदेशिक रोजगारी बाध्यता भए पनि जापानलाई धेरैले आकर्षक र सुरक्षित गन्तव्यको रुपमा लिएको बताएका छन् । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
भेटवार्ताका क्रममा द्विपक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री अर्यालले विगतमा दुई देशबीच नेपालबाट श्रमिक पठाउने सम्बन्धमा भएका सम्झौताहरुको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइरहेको राजदूत किकुतालाई जानकारी दिए ।
त्यस्तै, नेपाली श्रमिकलाई ठगिनबाट जोगाउन न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोग गरी जापानी दूतावासकोसमेत समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली कामदार जापान पठाउने सम्बन्धमा नेपाल सरकार सचेत रहेको मन्त्री अर्यालले बताएको उनको सचिवालयले जनाएको छ । निश्चित भाषा, सीप सिकेर मौसमअनुकूल काम गर्ने सुरक्षित वातावरण भएका जापानजस्ता मुलुकमा नेपालीहरु रोजगारीका लागि जाउन् भन्ने सरकारको मनसाय रहेको उनले प्रस्ट पारे ।
मन्त्री अर्यालले नेपाली युवाहरुलाई वैदेशिक रोजगारीको अलावा आन्तरिक रोजगारीको उपयुक्त वातावरण सिर्जना गरी नेपालमा नै अवसर उपलब्ध गराउने कार्यमा सरकारको प्राथमिकता रहेको बताए । स्वदेशमा नै बसेर काम गर्न सक्ने अवस्था बनाउन रोजगारदाता र रोजगारीको खोजी गरीरहेका नेपालीबीच मध्यस्थताको काम गर्नेगरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्न लागिएको पनि राजदूत किकुतालाई जानकारी दिए ।
मन्त्री अर्यालसँगको भेटमा राजदूत किकुताले नेपाल–जापान श्रम सम्बन्धका विविध विषयमा खुला छलफल गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले नेपालीहरुलाई रोजगारी उपलब्ध गराउने सम्बन्धमा थप सहजीकरण गर्न जापानी दूतावास तयार रहेको बताए ।वैदेशिक रोजगारीका अवसरहरु अल्पकालका लागिमात्रै उपयुक्त विकल्प भएको बताउँदै राजदूत किकुताले दीर्घकालमा नेपाली युवाहरुलाई नेपालमा नै रोजगारीका अवसरहरु उपलब्ध हुन सकेमा नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने धारणा राखे । जापानले नेपालीहरुलाई रोजगारीमात्र दिने नभई जापानबाट फर्किएकाहरुलाई नेपालमा नै रोजगारी एवं उद्यमशीलता प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरेको जानकारीसमेत दिए ।