काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि श्रमाधान रोजगार मेला आयोजना गर्दै छ । कोशी प्रदेशको विराटनगरबाट आरम्भ हुने यस मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने मन्त्रालयले जनाएको छ ।
स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्ने योजनाका साथ रोजगार मेलाको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । रोजगार मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्नु रहेको बताइएको छ ।
यद्यपि मेलाबाट आन्तरिक रोजगारीमात्र नभएर वैदेशिक रोजगारसम्बन्धी पनि जानकारी लिन सकिने मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बताए । ‘मेलाले रोजगारदाता र रोजगारी खोज्नेबीच दूरी घटाउने काम गर्छ,’ उनले भने, ‘यसबाट रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीका विषयमा आवश्यक जानकारी र अवसर प्राप्त हुने छ ।’
मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने छ । त्यसैगरी सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतको मेलामा स्टल रहने जानकारी दिइएको छ ।
मुलुकको सातवटै प्रदेशमा चल्ने मेला प्रत्येक प्रदेशमा दुई÷दुई दिन सञ्चालन हुने छ । कोशी प्रदेशको विराटनगरमा आज र भोलि, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा जेठ २९ र ३० गते मेला सञ्चालन हुने छ ।