नेपालीले सबैभन्दा धेरै समय कुन विषयमा खर्च गर्छन् होला ? सत्ता, जोसुकैले सजिलै जवाफ दिन सकिन्छ । हरेकको प्रश्न अब सरकार के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसको साथ लेलान् ? पहिलेभन्दा यसपटक लामो समय प्रधानमन्त्री बने, अब के होला ? यस्तै यस्तै प्रश्नमा चिया भेटघाट सकिन्छ । डिनर मिटिङ सकिन्छ । माचारहरु यस्तै बन्छन् गसिपकै आधारमा । प्रतिनिधि सभामा कुनै एक पार्टीले एकल सरकार बनाउन सक्ने गरी बहुमत ल्याउन सकेको छैन । जसकारण अहिले तेस्रो ठुलो दलका अध्यक्ष दाहाल प्रधानमन्त्री छन् । आफूलाई अप्ठेरो पर्नसाथ दाहाल कहिले एमालेसँग काँध फेर्न पुग्छन् त कहिले कांग्रेससँग ।
बजेट प्रस्तुतअघि दाहाल प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेसँगै सरकार परिवर्तनको आशंका बढ्न थालेको छ । यही मेसोमा सत्तामै रहेका एकीकृत समाजवादीका नेता माधव नेपाल पनि देउवा निवास पुगे । उनी देउवा निवास पुगेको भोलिपल्ट यही दलका अर्का नेता झलनाथ खनाल बालुवाटार पुगे । योसँगै सत्तामा नयाँ खिचडी पाक्दै हो कि भनेर आशंका थपिएको छ । गसिपको मसलेदार विषय बनेको छ ।
विकसित देशका नेता र जनता दुरदर्शी योजनामा लाग्छन् । अबको ५० वर्षपछि के हुँदैछ÷हुन्छ, के गर्ने भनेर योजना बनाउँछन् । नयाँ नयाँ अनुसन्धान र खोज गरी आवश्यक पूर्वतयारी गर्छन् । एआइएको प्रयोगसँग मानव रोजगारीमा आइपर्ने संकटका विषयमा मन्थन गर्छन् र नयाँ नयाँ रोजगारीको परियोजना बनाउँछन् ।
तर हाम्रो देशका विज्ञ, सरकार र जनता भने क्षणक्षणमा फेरिने सरकारको विषयमा छलफल गर्नेबाहेक वरको कुरा पर सार्न सक्दैनन् । राष्ट्रिय योजना आयोगलाई पञ्चवर्षीय योजना बनाउन धौधौ हुन्छ । स्वचालित यन्त्र, एआइजस्ता प्रविधिले एक दशकमा धेरैको रोजगारी खोस्ने अनुमान गरिएको छ । भारत, बंगलादेशजस्ता देशमा गार्मेन्ट, खानीमा काम गर्ने कामदारको रोजगारी एकदशकभित्रै खोसिने देखेर यहाँका सरकार पूर्वतयारीमा लागिसकेका छन् ।
तर हाम्रो सरकारले हाइसञ्चो छ । हुन त पर्यटन, कृषि, जलस्रोतको मन्त्र जप्दै धामीले फूकेको शैलीमा काम्दै दुइ चार अक्षता फाल्ने नेतृत्वलाई युवाको रोजगारीको विषयमा के चासो ? यसको उदाहरण हेर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे हुन्छ । हजारौं युवाले देश छाड्दा पनि प्रधानमन्त्री, अर्थमन्त्री रेमिट्यान्समा ¥याल बगाउनेबाहेक अरु केही गर्न सक्दैनन् । नानीदेखिको बानी भने झैं पहिलेका कुनै नेताले उदाहरणीय काम गरेको भए पो सिको गर्ने ? बाटो देखाउने कोही नभएपछि नेपाली नेताको काम सत्ता फेरबदल गरिरहने, जनता पनि मन्त्री फेरिनसाथ खादामाला बोकेर दौडँदै बधाई दिइरहने । पात्र फेरिए पनि नियति फेरिएको छैन । जनताले कहिलेसम्म यस्तो सुविधा पाइरहने ? पूर्वतयारीमा कहिलेबाट लाग्ने ?