धनगढी– आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले चौथो संस्करणको मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूपश्चिम खप्तड गोल्डकपको उपाधिमाथि कब्जा जमाएको छ ।
धनगढी रंगशालामा मंगलबार भएको फाइनल खेलमा ‘ए’ डिभिजनको बलियो थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै सुदूरपश्चिम–११ स्पोर्टस क्लबले उपाधिमाथि कब्जा जमाएको हो ।
आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे । फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई नियन्त्रणमा लिदै बिक्रमले जाली चुमाएका थिए । प्रतियोगिताको यो उनको पाँचौँ गोल समेत हो ।
त्यसअघि खेलको २० औँ मिनेटमा बिक्रमकै प्रहार थ्री स्टारका कप्तान बिक्रम लामाले गोल लाइनबाट क्लियर गरेका थिए । खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका माधव भण्डारी चुनिए ।
यस उपाधिसँगै सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिम–११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ । सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
उपाधिसँगै आयोजक टीमले २१ लाख १ रूपँैया पाएको छ । उपविजेतामा चित्त बुझाएको थ्री स्टारले १० लाख १ रूपैँया पाएको छ । प्रतियोगिताको फाइनलमा गोल गर्दै सुदुरपश्चिम–११ लाई उपाधि दिलाएका बिक्रम सिंह ठकुरी चौथो संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड सुदुरपश्चिमका बिक्रम सिंह ठकुरी, गोलकिपर थ्री स्टारका पूर्ण चेम्जोङ, मिडफिल्डर थ्री स्टारका सुशील राई, डिफेन्डर सुदुरपश्चिमका धन बहादुर थापा चुनिए । यस्तै उदयमान खेलाडी सुदुरपश्चिमका विष्णु चौधरी र उत्कृष्ट प्रशिक्षक सुदुरपश्चिमकै रोहित भण्डारी चुनिए । व्यक्तिगत विधाका उत्कृष्टले जनही १५÷१५ हजार प्राप्त गरे ।