यार्सालाई नेपाली हीराका रुपमा चिनिन्छ । यो निकै महŒवपूर्ण औषधिसमेत हो । महँगो मूल्य पर्ने यार्सा संकलनका लागि हरेक वर्ष नेपालीहरु जोखिम मोलेर हिमाली क्षेत्र पुग्छन् । उनीहरुले आफूमात्र कमाउँदैनन्, राज्यलाई लाखौं राजस्व तिर्छन् ।
यसपटक पनि यो हिमाली हीरा संकलन गर्ने समय सुरु भएको छ । तर यार्सा संकलन गर्ने क्रममा सुरुआती दिनमै चार जनाको मृत्यु भएको छ । मुगुको पाटन क्षेत्रमा लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एक जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको थियो ।
यता यार्सा टिप्न गएको मौका छोपी मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पुमा लुटपाटसमेत भयो । आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका थिए । उक्त समूहले आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै जेठ १३ गते शनिबार बेलुका ५ बजे स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेको प्रहरीमा उजुरी परेको छ ।
समूहले गाउँमा वृद्धवृद्धा र बालबालिकालाई हतियार देखाउँदै लुटपाट गरेका थिए भने गुम्बाका लामालाई कुटपिट गरेका थिए । समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्दा दोर्जे तामाङ, टोमा छोइङ तामाङ, शान्ति तामाङ र पेमा दोर्जे तामाङ घाइते भएका छन् । उक्त घटनाबारे प्रहरीले भोलिपल्टमात्र थाहा पाएका थिए ।
यार्सा टिपेर एक त स्थानीय आफैंले रोजगारीको सिर्जना गरिरहेका छन् भने यसबाट राज्यले करोडौं राजस्वसमेत पाउँछ । तर यो क्षेत्रमा खटेका संकलकलाई सरकारले न त सुरक्षाको पूर्वतयारी गरिदिएको छ न त गाउँक्षेत्रको सुरक्षामा नै प्रशासनको चासो छ । रोजगारी सिर्जना पनि गर्न नसक्ने र नागरिकको सुरक्षा पनि गर्न नसक्ने राज्य नागरिकप्रति कसरी जवाफदेही मान्ने ? त्यसैले आगामी दिनमा प्रशासन र राज्यले यस्तो गल्ती नगरोस् । काम गर्छु र केही रकम जोहो गर्छु भन्नेले मृत्यु रोज्न नपरोस् ।