थरी टोलको डिलमा रहेको पिपलबोटको फेदमा बसेर चित्रबहादुर कराउँछन् । होइन ओइऽ झुम्रेका बान । तेरो डाम्नाले के–के गरेको छ हेर्दैनस् ? खाली अर्काको साँधमा लगेर बाँधेको छ । भएभरको चीज सोत्तर बनाको छ ! कति अटेर गरेको हो गर्न पनि !
चित्रेले जति नै चिच्याए पनि सुन्नेवाला कोही थिएन । झुम्रेको घरतिरबाट कसैले चियाउँला र अझ बेस्सरी झपारौंला भन्ने सोच चित्रेले राखिरहेको थियो । तर, कोही पनि निस्केन । चित्रे चिच्याइ–चिच्याइ कराउन थाल्यो ।
कत्ति बेर चिच्याएपछि बल्ल झुमे्रको नाति आँगनका डिलमा आएर मास्तिर फर्केर प्रश्न ग¥यो । मर्ने बेला भाको बूढो किन घोक्रो सुक्ने गरी कराऽ छौं ? अब यो उमेराँ आएर नि तिम्रो मति सप्रिने भएन ।
डाँडाबाट चित्रे कराउँछन्, ‘के रे केरे, उल्टै मलाई धम्की !’ हिजाका फूल आजको चल्ला । बढो पूmर्ति गर्दौ रैछ । तेरा डाम्नालाई आफ्नै बारीका पाटा लगेर बाँध्नु नि ! किन मेरो साँधमा ल्याएर लडाको छस्, जा तेरो बाउलाई गएर सुनाइदे खुरुक्क । अर्का साँधमा ल्याएर किन बाँध्नु परो तेरो डाम्नलाई ?
तिम्रै साँध हो नि ! तिम्रा फुटेका आँखाले हेरेका छौं कि जे मन लाग्यो त्यही फलाक्दै छौं ? हाम्रा ‘बा’ ले आफ्नै साँधमा बाँधेका छन् । अलि नजिकै गएर हेर तिम्रा साँधमा छ कि अर्काको साँध हो ?
तेरो माझा लगेर बाँध्न के को हाम्रा साँधमा ल्याका छस् त ? पिपलबोटको हावाले सुरिलो आवाजसहितको सुस्केरा हालिरहेको छ । साँधमा चित्रे र झुम्रेका नाति दुई साइँदुवा लडिरहेका छन् । एकले अर्कालाई आरोप लगाइरहेका छन् । कसको साँधमा कसको अधिकार भन्दै ।
यता चित्रे छाड्ने पक्षमा नै छैन भने अर्कोतिर झुम्रेको नाति पनि के कम, ज्यान जाला पछाडि हट्ने देखिँदैन । चित्रे पिपल बोटाँ बसेर कराइरहेका छन् भने झुम्रेको नाति आँगनको डिलमा बसेर हपार्दै छ । को भन्दा के कम । किन टेर्ने ? कसले भनेको किन मान्ने ?
अहिले गाउँमा कसैले भनेको मान्नेवाला नै छैन । उता चित्र आफ्नो साँधको कुरा गरेर दुईचार जना अधवैशे तयार गरिरहेको छ भने यता झुम्रेको नाति मुर्रा आफूजस्तै उरण्ठेउला केटाकेटी जम्मा पारेर बूढालाई ठीक पार्छु भन्दै छ ।
आफ्नै साँधमा बाँधेको बाख्रामाथि चित्रेले गिद्दे नजर लगायो भन्छन् मुर्रा ! उता चित्रे आफ्नो साँधमा बाख्रा बाँधेर घाँस खुवाएर सिध्याइदियो भन्ने आरोप लगाएको छ । न साँधमा तारजाली घेर्नु, न पर्खाल नै लगाउने !
अहिले तीन गाउँ हँसाउने काममा लीप्त छन् चित्रे र मुर्रा ! सुझ न बुझ टुँडिखेलमा कुद भनेजस्तै ! खुरुखुरु आफ्नो खेतबारी संरक्षण आफैं नगरेर गाउँ हँसाउने काम किन गर्नु ? तर संरक्षण हुने कुरा त हुँदै हुँदैन भन्ने कुरा पो सुनिन्छ त ?
साँध सिमानामा संघर्ष गर्ने साइँदुवाहरु ! उबेलादेखि सुस्ता रोएको रोयै छ । ठाउँमा ठाउँमा जनता रोएको छ कसैलाई मतलव छैन । जनजनको घरमा मन रोइरहेको छ । चासो छैन । तर अहिले एउटा साँधको विषयमा यत्रो लफडा ।
न चित्रेलाई फाइदा न मुर्रालाई फाइदा । ‘भाइ फुटे, गवार लुटे’ भनेजस्तै भाको छ । कोही बोल्नेवाला पनि छैन । बोल्दा पनि बोल्दैन । गाउँमा चित्रे र मुर्राको साँध विवादले धेरैलाई चिन्ता पनि छ । कतै न्याय पो नपाउने हो कि भनेर । हुन त संघीऽयता न उता मा हुने नै यस्तै हो । पञ्चभलाद्मी बस्ने अनि डिल ठोक्ने । उसलाई ऊ गरेर अर्का साँधा ल्याएर यसो गरेर उसो गरेर भनेर मात्र हुन्छ ?
चित्रलाई पनि कहिलेको पीडा पोख्नु प¥या हो ! अर्को खाली साँधमै आएर कर्कस गरेको छ । आफ्नो साँधा जे गरे पनि हुन्छ भन्ने सोचले गर्दा बिग्रेका त होला नि ?
ऊ बेला साँध सिमाना राम्रैसँग छुट्याउ भन्दा नमानेपछि अहिले आएर हुने त यस्तै त हो नि । तात्तातो रिसले आफैंलाई खान्छ भन्छन् । चित्रे र मुर्राको भन्दा को कम ! साँधमा बसेर सधैं के लफडा गर्नु साइँदुवाहरु ! साँधमा बसेपछि मिलिजुली गर्न चौतारीमा बसेर पञ्चभलाद्मीले ऊ बेला पनि भनेकै हुन् । तर, खै टेरेको भए पो ! खालि दुनियाँ हँसाउनेबाहेक केही पनि गर्दैनन् ।
हुन त साँधमा बसेपछि शक्ति त देखाउनै प¥यो नि । त्यसमाथि पनि थरी टोलका पिपलबोटमा बसेर गाउँ थर्काएका चित्रेले मुर्रालाई के बाँकी राख्थे र ? ताल परे झिँझाले मुढा पोल्न आको होस् भन्दिन्छन् चित्रेले ! पहिले–पहिले हो र, अब त ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेजस्तै हो ।
चित्रे बाले ०४८ साल सोच्या होलान् यो त ०८१ साल पो हो त गाँठे । अब कसैलाई थर्काएर थर्कनेवाला नै छैन नि । चित्रे बा अझै पनि मुर्रालाई आफ्नै पाखुरीका बलले साँधमा बसेर ठीक पार्छु भन्ने सोचिराका छन् । जवाना नातिको छ बा हजुरबाले घिउ खाको बल मसँग छ भन्नेमा छन् ।
मुर्राले तलबाट फेरि कराउन थाल्यो । होइन ओइ बूढा, तिम्रा बाले ल्याप्चे हानेर साँध मिचेको त बिर्सेका छैनौं होला नि ? एक–एक हिसाव छ नि मसँग !
बूढा माथिबाट हकार्दै भन्छन, तेरा हिसाब तैँसँग राख, मेरो हिसाबमा तँलाई कसरी हान्छु हेर्दै जा ।
बूढाको कुरा सुनेर मुर्राले आँगनको डिलबाटै एक ढुंगो प्रहार गर्छ । चित्रे ढुंगा त छल्छन् अनि चिच्याउँछन्, गुहारऽ गुहार, मेरो साँध मिचेर मलाई ढुंगा हान्यो । सब नालायक रै‘छन्, कोही बोल्देन । गुहार गाउँले गुहार, बचाऊ भन्दै बूढो फुत्त पिपलको रुखको आडैबाट कुलेलम ठोक्छ ! मुर्रा मरीमरी हाँस्छ ।