काठमाडौं - काठमाडौंकाे ठमेलमा द भिगन किचेन रेस्टुराँ खुलेको छ । प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई गरेर चार जनाको लगानीमा खुलेको द भिगन किचेन नेपाली ‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो रेस्टुराँ हो ।
शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोएिशन रेबान) का अध्यक्ष सङ्घर्ष बिष्ट र नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ गीतकार तथा पर्यटन व्यवसायी देवेन गिरीले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
ठमेलस्थित होटल मनाङसँगै जोडिएको द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । बिहान १० बजेदेखी राती १० बजेसम्म खुल्ला रहने यस रेस्टुराँमा सेटन बिर्यानी, मिन्ची बिर्यानी, स्टिक बिर्यानी, छोयला, मम, भिगन सिजलर, थाली,लगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ ।
यस्तै हर्बल टि, सोया टि, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि मेनुमा उपलब्ध छन् । डेजर्टमा भने सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ ।द भिगन किचेनको सजावट विशेष र आकर्षक छ । गोबरले लिपिएका यहाँका भित्ताहरुमा मिथिला चित्रकथा हेर्न सकिन्छ । यहाँ गाउको झझल्को दिने पारिवारिक वातावरण छ ।
‘माछा, मासु र दुधमा जति प्रोटिन पाईन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाईन्छ ’ सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठले भनिन्, ‘नेपालमा विस्तारै मानिसहरु भिगनप्रति आकर्षित हुँदैछन् । रेस्टुराँको मेनु त्यती महंगो छैन । ’
भिगनका विभिन्न परिकारहरुका साथै यहाँ नेपालको संस्कृती झल्किने बिभिन्न नृत्य तथा गीत, संगीत सुन्न र हेर्न सकिनेछ । रेस्टुराँले हाल १२ जनालाई रोजगारी प्रदान गरेको छ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताईन् ।