वासिङ्टन डी.सी.– अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् ।
‘यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,’ उपराष्ट्रपति पेन्सले बताए ।
अमेरिकी औषधि कम्पनीले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोप विकास गर्न एकअर्कासँग सूचना आदानप्रदानसहित संयुक्त प्रयास गरिरहेको बताइएको छ । उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने बताए ।
कोरोना भाइरस सङ्क्रमित चार अमेरिकी नागरिकको सोमबार मृत्यु भएको थियो, र योसहित कूल मृत्यु हुनेको सङ्ख्या बढेर छ जना पुगेको छ । अमेरिकामा भाइरल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०० पुगिसकेको छ ।
सोमबारसम्म यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३,००० नाघि सकेको छ । यीमध्ये अधिकांश व्यक्ति चीनका रहेका छन् । यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् । अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ । (रासस÷एएनआई)