मानव बेचबिखन तथा ओसारपसारमा पर्ने पीडितमध्ये दुईतिहाइ महिला
बेचबिखनमा पर्नेहरू भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने गरेको खुलासा
काठमाडौं– लागुऔषध सेवन र हातहतियार खरखजनासम्बन्धी अपराधपछि विश्वमा सबैभन्दा बढी हुने अपराधमध्येमा पर्छ– मानव बेचबिखन तथा ओसारपसार । यस्तो अपराध पछिल्ला दिनमा नेपालमा पनि झाँगिदो रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
ब्युरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार यसरी मानव बेचबिखन तथा ओसारपसारमा पर्ने पीडितमध्ये दुईतिहाइ महिला छन् ।नेपालबाट मिर्गौला, कलेजो र रगतसमेत मानव तस्करहरूले तस्करी गर्ने गरेका छन् । जबकि, नेपालको विद्यमान कानुनअनुसार मिर्गौला बेचबिखन गर्ने, वेशयावृत्तिमा लगाउने, अंग निकाल्ने र वेशयागमन लगाउने कार्यलाई मानव बेचबिखन मान्ने गरिन्छ । किन्ने–बेच्ने उद्देश्यले मानिसहरूलाई विभिन्न प्रलोभन देखाएर एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लाने कार्यलाई मानव ओसारपसार भन्ने गरिन्छ ।
यस्तो अपराधमा संलग्न एक हजार २२१ जनालाई प्रहरीले २०७६ सालयता पक्राउ गरिसकेको छ । मुद्दा दर्ता देशभर ९७१ वटा भइसकेका छन् । ब्युरोमामात्रै २८० मुद्दा दर्ता भएकामा २३७ वटाको टुंगो लागेको छ ।प्रवक्ता मिश्रका अनुसार नेपालबाट बेचबिखनमा परेका वा ओसारपसारमा परेकाहरू श्रम शोषण, यौन शोषण, जबर्जस्ती विवाह, घरेलु दासत्व, जालसाँजी, एक ठाउँदेखि अर्को ठाउँमा लगेर बेचिने गरेका छन् ।
बेचबिखनमा पर्नेहरू भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने गरेको पनि उनले बताए । रोचक त के छ भने देशभित्र र बाहिरी मुलुकमा हुने यस्ता अपराधको स्वरुप पूरै भिन्न छ । नेपालभित्र बेचबिखनमा पर्नेहरू अनाथ बालबालिका छन् । कतिपयचाहिँ आमाले छाडेका बालबालिका मानव तस्करहरूको निशानामा पर्ने गरेका छन् ।
उनीहरूलाई फकाएर विभिन्न प्रलोभन देखाई ल्याएपछि मनोरञ्जन गृहहरूमा सरसफाइ क्षेत्रमा काम लगाउने र अन्ततः वेशयावृत्तिमा लगाउने गरेको पाइएको मिश्रले बताए ।रेस्टुरेन्ट व्यवसायीले त्यस्ता बालिका वा महिलाहरूलाई सम्पर्कमा राख्ने र ग्राहक आएपछि मिलाइदिने गरेको पनि उनी बताउँछन् । घरेलु र उद्योगमा कामदारको रुपमा जबर्जस्ती लगाउनेजस्ता अपराध पनि नेपालमा बढ्दो रहेको उनको भनाइ छ । छिमेकी मुलुक भारतमा नेपालबाट लगेर वेशयावृत्तिमा लगाउने र कतिपयलाई मानव तस्करहरूसँग सम्पर्क गराएर तेस्रो मुलुकमा पठाउने अपराधको प्रवृत्ति छ ।
चीनमा भने नेपाली महिलाहरूलाई विवाह गराएर तस्करहरूले चिनियाँ केटाहरूसँग पठाउने र त्यहाँ पुगेपछि वेश्यावृत्तिमा लगाउने गरेको पनि ब्युरोले जनाएको छ । मध्यपूर्वका देशहरू ओमान, कुवेत, सिरिया र इराकमा नेपाली महिलाहरूलाई यौनदाषीको रुपमा राख्ने गरेको पनि ब्युरोको दाबी छ । ती देशहरूमा नेपाली महिलालाई पु¥याउन भारत–दुबईको रुट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पूर्वी एसियाली देशहरू थाइल्यान्ड, म्यानमार र लाओसमा भने नेपाली युवायुवतीलाई लगेर मानव तस्करहरूलाई साइबर अपराधमा लगाउने गरेका छन् । युरोपका स्यान्जेन देशहरूबाट भने रुस–युद्धमा नेपाली युवायुवतीलाई पठाउने गरेको पाइएको ब्युरोको दाबी छ । यससँगै अमेरिका पठाउने ठूलो मानव तस्करहरूको समूह रहेको तर उनीहरूलाई कानुनी दायरामा ल्याउन मुस्किल परेको ब्युरोका प्रवक्ता मिश्रले बताए ।
त्यसरी तस्करीमा लगिएपछि महिलाहरूलाई यौन शोषणमा सबैभन्दा बढी लगाउने, यौन शोषण घरधनीबाट हुने र श्रम शोषण पनि उत्तिकै हुने गरेको छ । पैसा नदिएर जबर्जस्ती श्रम शोषणमा पनि लगाउने गरिएको पाइएको बताइएको छ ।उसो त नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय कानुन पार्लेमो प्रोटोकलमा १६ जुन २०२० मा हस्ताक्षर गरिसकेको छ । तर, अझैसम्म यो कानुन कार्यान्वयनका लागि बनाउनुपर्ने नौ वटा कानुन सरकारले बनाएकै छैन । आवश्यक कानुनहरू बनाएको अवस्थामा नेपालबाट भएको मानव बचेबिखन तथा ओसारपसारका पीडितहरूको उद्धार, अपराधमा संलग्नलाई विभिन्न देशबाट पक्राउ गरेर ल्याएर कानुनी दायरामा ल्याउन सहज हुने वरिष्ठ अधिवक्ता मीरा ढुंगाना बताउँछिन् ।
उनका अनुसार पार्लेमो प्रोटोकललाई कार्यान्वयन गर्नका लागि राहदानी ऐन, अध्यागमन ऐन, बालश्रम ऐन मानव बेचबिखन तथा ओसारपसार ऐन, वैदेशिक रोजगारी ऐन, पारस्परिक कानुनी सहायता ऐन, संगठित अपराधन ऐन, श्रम, ऐन, सुपुदर्गी ऐन, मुलुकी अपराध संहिता ऐनलाई संशोधन गर्नुपर्छ । यति गरे जुन देशमा नेपाली नागरिक बेचिएका छन्, त्यहाँ नेपाली नागरिकले कानुनी सहायता पाएर न्याय पाउँछन् । तर, अहिले पनि पार्लेमो प्रोटोकल कार्यान्वयनका लागि आवश्यक नौवटा कानुन नबनाइँदा नेपालबाट बेचबिखनमा वा ओसारपसारमा परेकाहरूको उद्धार गर्न कठिनाइ भइरहेको ब्युरोले जनाएको छ ।