हामी घटनाको अनुसन्धानको अन्तिमतिर आइपुगेका छौं । ठ्याक्कै दिन तोकेर त भन्दैनौं तर छिट्टै अनुसन्धान टुंग्याउँछौं र घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।
तुलबहादुर कार्की
प्रमुख, बाँके प्रहरी
काठमाडौं– एकल महिला निर्मला कुर्मी सम्पर्कविहीन भएको छ वर्ष हुनै लाग्यो । बाँकेको नेपालगञ्ज–१७ परस्पुर घर भएकी उनको भारतमा मृत्यु भएको भन्ने खबर चार वर्षअघि आएको थियो । अहिलेसम्म उनको मृत्यु घटनाबारे यकीन तथ्य भेटिएको छैन ।
घटनाअघि उनी करोडौं मूल्य पर्ने जग्गाका धनी थिइन् । परस्पुरमा सडक छेउमै निकै महँगो पर्ने साढे चार बिघा जग्गा उनको थियो । सोही जग्गा हडप्न उनलाई सम्पर्कविहीन बनाइएको ठानिन्छ । किनभने उक्त जग्गामा पूर्वसभासदसमेत रहेका कांग्रेस नेता वादशाह कुर्मीको आँखा गडेको थियो । उनले निर्मलाबाट जग्गाको लालपुर्जादेखि नागरिकतासम्म कब्जा गरेका थिए । यसबारे २० चैत २०६७ मा जिल्ला प्रशासन कार्यालय बाँकेमा निर्मलाले उजुरीसमेत दिएकी थिइन् । अधिकारकर्मी रुबी खानसहितले प्रदर्शन गरेका थिए । अन्ततः कागजात वादशाहले फिर्ता गरेका थिए ।
तर, २०६९ सालमा भने निर्मलाको जग्गा वादशाहसहित अन्य केही व्यक्तिको नाममा नामसारी भयो । आफ्नो जग्गा हडपेको थाहा पाएकी निर्मला यसविरुद्ध लडाइँमा लडिरहिन् । यहीबीच २५ माघ २०७५ देखि निर्मला एकाएक सम्पर्कविहीन भइन् । वादशाहलगायतले निर्मलाले भारतमा बिहे गरेको चर्चा चलाए । त्यसको दुई वर्षपछि निर्मलाको भारतमै मृत्यु भएको खबर गाउँभर फैलियो ।
यसपछि निर्मलाको अपहरण तथा शरीर बन्धक बनाएर हत्या गरेको आरोपमा महिला अधिकार मञ्च बाँकेले १६ मंसिर २०७८ मा वादशाहसहित कृष्णमुरारी सिंह, कुवर बबन सिंह, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धीरेन्द्र सिंह, रमेश थापा र पार्वती विष्टको नाममा किटानी जाहेरी दियो । उनीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न मञ्चको माग थियो ।
र, त्यहीबेला घटनाको अनुसन्धान गर्न प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा एउटा टोली गठन भयो । उक्त टोली स्थलगत अनुसन्धानका लागि बाँके पुग्यो । तर, केही पनि घटनाबारे नयाँ तथ्य फेला पारेन । यसपछि अनुसन्धानले थप गति पनि लिएको छैन । यद्यपि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निर्मलाका नाममा रहेको जग्गा र नामसारी भएको कागजात नियन्त्रणमा लिएर त्यसको अनुसन्धान गरिरहेको दाबी गरेको छ ।
निर्मलाको घरजग्गा भूमाफिया वादशाहसहितले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वको समितिले भेटेको थियो । समितिले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषी पक्राउ गर्न प्रतिवेदनमा सुझाव दिइएको थियो । सोहीअनुसार २०७८ मंसिरमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी छ जना आरोपीलाई प्रहरीले पक्राउ गरेर २१ दिन हिरासतमा राखेर हाजिरी जमानीमा छाडेको थियो । कांग्रेसबाट सभासद भइसकेका कुर्मी र आरोपित ८० वर्षीय कुवर बब्बन सिंहलाई भने अदालतले उमेर हदम्यादका कारण साधारण तारिखमा छाडेको छ ।
तर, प्रहरीले गम्भीरतापूर्वक निर्मला कुर्मीकाण्डको अनुसन्धान गरेको छैन । यद्यपि, यसलाई बाँके प्रहरीले अस्वीकार गरेको छ । बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्कीले प्रभावसँग भने, ‘हामी घटनाको अनुसन्धानको अन्तिमतिर आइपुगेका छौं । ठ्याक्कै दिन तोकेर त भन्दैनौं तर छिट्टै अनुसन्धान टुंग्याउँछौं र घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’
निर्मलाको न्यायका लागि भन्दै सरकारलाई दबाब दिन शुक्रबार बाँकेदेखि आइपुगेको महिला र अधिकारकर्मीहरू सम्मिलित १४ जनाको टोली माइतीघरमा धर्नामा बसेका छन् । राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा आएको टोलीको नेतृत्व अधिकारकर्मी रुबी खानले गरेकी छन् । यसअघि उनीहरूले एक सातासम्म बाँके जिल्ला प्रशासन कार्यालय परिसरमा आन्दोलन गरेका थिए । त्यहाँ उनीहरूको माग सुनुवाइ नभएपछि फेरि काठमाडौं आएका हुन् ।
धर्नारत उनीहरूलाई नागरिक अभियन्ता, कानुन व्यवसायी तथा सरोकारवालाहरू आएर भेट्ने, धर्नामा ऐक्यबद्धता जनाउने गरेर साथ दिइरहेका छन् । २०७८ यता खानको नेतृत्वमा बाँकेदेखि महिला र अधिकारकर्मीहरू हरेक वर्ष निर्मला कुर्मीको न्यायका लागि पैदल हिँडेर आउने गरेका छन् ।गृहमन्त्रीले हरेक वर्ष नै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउँछन् र उनीहरूलाई फर्काउँछन् । तर, घटनाको अनुसन्धान जहाँको त्यहीँ हुन्छ । जसबाट आरोपीहरूले खुलेआम हिँड्न पाएका छन् ।
खानसहितका अधिकारकर्मीहरूले निर्मलाको मुद्दालाई छिटो अदालतमा पुर्याउन माग गरेका छन् । बाँकेका एसपी तुलबहादुर कार्कीसहित अनुसन्धान अधिकृतले दोषीलाई उम्काएर निर्दोषलाई फसाउने कार्य गरेको भन्दै उनीहरुले कारबाहीको माग गरेका छन् । आन्दोलनकारी र उनीहरूका परिवारको सुरक्षाको पनि माग अधिकारकर्मीहरूले गरेका छन् ।
उजाडिएको कुर्मी परिवार
देशमा द्वन्द्व उत्कर्षमा थियो । त्यहीबेला २०६२ मा निर्मलाले पति महालुलाई गुमाइन् । अधबैंसे छँदै उनी विधुवा भइन् । सिँउदोबाट सिन्दूर पुछियो । अनि, बालखै दुई छोरा सुरेश र रामसागरको लालनपालन, शिक्षादीक्षादेखि घर व्यवहार गर्ने जिम्मा निर्मलाकै काँधमा आइलाग्यो । जग्गा जमिन भने पर्याप्त थियो । सडक छेउको जग्गा हुनाले सबै बेच्दा त्यसबेलै करोडभन्दा बढी आउने थियो । सोही जग्गामा छिमेकी वादशाह कुर्मीको नजर गड्यो । अनि, वादशाहको थिचोमिचोमा पर्न थालिन् निर्मला । कहिले घरमै आएर कुटपिट गर्थे । कहिले बारीमा घिसार्थे । जग्गा हडप्न खोज्थे । यसरी घरमुली नहुनु र सन्तान बालखै हुुनाले निर्मलाले वादशाहबाट सहनु पिर सहिन् ।
यसरी वादशाहको हेपाहा प्रवृत्तिविरुद्ध जसोतसो लड्दै आएकी निर्मलाको जीवनमा २०६६ साल ‘महादुखान्त’को वर्ष बन्यो । त्यस वर्षको कात्तिक दोस्रो साता कान्छो छोरा रामसागर एक्कासि बिरामी परे । लगत्तै उनको मृत्यु भयो । उनी १४ वर्षका थिए । श्रीमान् महालु गुमाएको त्यसबेला चार वर्षमात्रै भएको थियो । पति वियोग भुल्दै गरेकी उनलाई पुत्र वियोग आइलाग्यो । अधिकारकर्मी रुबीका अनुसार निर्मलाले उनलाई त्यसबेला रामसागरको मृत्यु संस्कारमा वादशाहले जानसमेत नदिएको गुनासो गरेकी थिइन् । ‘मैले नौ महिना गर्भमा बोकेँ । बाँकी १४ वर्ष स्याहारेर हुर्काएँ । उनको खै कसरी मृत्यु भयो,’ निर्मलाले त्यसबेला आफूलाई भनेको कुरा स्मरण गर्दै रुबीले प्रभावसँग भनिन््, ‘उनै मेरो छोरालाई चितामा राखेर अन्तिम विदाइ गर्ने चाहना थियो । तर, वादशाहले जान दिएनन् । रोके ।’
कान्छो छोरा रामसागरको मृत्युले कुर्मी परिवार दुखान्तमा पर्यो । परिवारको खुसी उड्यो । घर उजाडियो । तर, सहनुको विकल्प निर्मलासामु थिएन । यत्तिकैमा फेरि, अर्को बज्रपात आइलाग्यो । मंसिर महिना (२०६६) कै अन्तिम साता जेठो छोरा सुरेशको पनि एक्कासि बिरामी परेर मृत्यु भयो । जतिबेलासम्म कान्छो पुत्र गुमाउँदा सहनुपरेको दुःखको आँसु आँखामा ओभाएकै थिएन । बलिन्द्र आँसुमा डुबिन् निर्मला । यद्यपि, सुरेशको पनि मृत्यु संस्कार गर्नैपर्यो । उनी १८ वर्षका थिए ।घरदेखि तल रहेको खेतको गरामा उनको अन्त्येष्टि गरियो । तर, त्यहाँ पनि वादशाहले निर्मलालाई जान दिएनन् । घरको पेटीदेखि छोराको शव धुवाँमा उडेको मात्रै हेर्न विवश भइन् ।
अधिकारकर्मी रुबीका अनुसार निर्मला आफ्ना दुई छोराको स्वाभाविक मृत्यु भएको ठान्दिन थिइन् । उनी शव परीक्षण गराउनुपर्ने पक्षमा थिइन् । किनभने खानामा विष मिसाएर खुवाएको हुन सक्ने उनको आशंका थियो । तर, उनले भनेजसरी शवको परीक्षण भएन । यसरी एकपछि अर्को दुःखको भूमरी निर्मलाले सामना गर्नुपर्यो ।