काठमाडौं– नेपाली फिल्म ‘प्रेमगीत–३’को टिजर सार्वजनिक भएको छ । दुई सय बर्ष अगाडिको प्रेमकथा बोकेको यस फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ शीर्ष भूमिकामा छन् ।
टिजर रिलिज गरेपछि निर्माता तथा निर्देशक सन्तोष सेनले दुई वर्षको मिहिनेतपश्चात फिल्म तयार भएको बताए । दर्शकको मनमा नाम लेख्नु नै आफु र आफ्नो टिमको उद्देश्य रहेको उनले बताए । बलिउड र हलिउडका फिल्मसँग दाँजेर नेपाली फिल्म झुर हुन्छ भन्ने प्रचलनलाई त्याग्नुपर्ने उनको भनाइ छ । फिल्मका लागि आफूहरूले तनमन, धन र पसिना प्रशस्तै खर्चिएको बताउँदै दर्शकको साथको अपेक्षा गरेका छन् ।
आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्तरूपमा निर्देशन गरेका हुन् । यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्बृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन गरिरहेका छन् । फिल्म घोषणासँगै सुटिङ स्थल सेटिङका कारण चर्चामा आएको थियो । फिल्मको केही अंश छायाङ्कन काठमाडौंमै शेट बनाएर गरिएको छ भने बाँकी उपल्लो मुस्ताङमा खिचिएको हो । यो फिल्म २८ चैतमा रिलिज हुनेछ ।