स्वास्थ्य सेवामा सुधार गर्ने सरकारको प्रतिबद्धता व्यवहारमा देखिएको छैन । देशभर अस्पतालको संख्या विस्तार गर्दै लगे पनि पर्याप्त उपकरणको अभावमा ती अस्पतालहरुले सबैखाले बिरामीलाई सेवा दिन सकिरहेका छैनन् । कतिपय अस्पतालमा जनशक्ति अभाव त कतिपयमा उपकरणको अभाव बताइन्छ ।
स्रोतको अभावले सरकारले आवश्यक उपकरणहरुका लागि बजेट विनियोजन गर्न सकेको छैन । तर, कतिपय दाताले उपलब्ध गराएका उपकरणहरुसमेत उपयोगमा ल्याउन नसक्नुचाहिँ विडम्बनापूर्ण अवस्था हो । आफैं खरिद गर्न नसक्ने अवस्थामा अरुले निःशुल्क दिएको उपकरणसमेत उपयोग नगर्नु गैरजिम्मेवारीपूर्ण कार्य हो । जनस्वास्थ्यमाथिको गम्भीर खेलबाड हो ।
यस्तै गैरजिम्मेवारी प्रदेश अस्पतालहरुमा देखिएको छ । प्रदेश अस्पतालमा उपलब्ध गराएको उपकरण सञ्चालन नआउँदा हिमोफिलियाका बिरामी पहिचान गर्न समस्या भएको भन्दै हिमोफिलिया सोसाइटी नेपालले पत्रकार सम्मेलन नै गरेको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दाताका सहयोगमा उपलब्ध गराइएका ‘कोगुलोमिटर’ उपकरण सञ्चालन नहुँदा हिमोफिलिया बिरामी पहिचान गर्न नसकिएको जानकारी दिइयो ।
सोसाइटीका अनुसार कोशी अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा उपलब्ध गराइएको ‘कोगुलोमिटर’ उपकरण रिएजेन्टको अभावले सञ्चालन आएका छैनन् । मधेस र कर्णाली प्रदेशमा भने सञ्चालनमा आएका छन् । सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पतालले भने प्राविधिक अभावले उक्त उपकरण लैजान मानेको छैन । अहिले काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पतालमा हिमोफिलियाका बिरामीको पहिचान गर्न ‘स्क्रिनिङ’ गरिन्छ ।
राष्ट्रिय जनगणनाअनुसार चार हजार ९३७ हिमोफिलियाका बिरामी रहेको तथ्यांक रहे पनि अहिले पहिचान गरी उपचारमा ८७० जना बिरामी रहेका छन् । रगत जमाउने आवश्यक तत्वको कमीको कारणले लामो समयसम्म रक्तश्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । चिकित्सकका अनुसार हिमोफिलिया एक वंशाणुगत समस्या हो । मानव शरीरमा हुने रगतको १३ वटा तत्वमध्ये कुनै एउटा तत्वको कमीको कारण हिमोफिलिया हुन्छ । यो वंशाणुगत र कोषमा उत्परिवर्तन भएर पनि हुने चिकित्सकको भनाइ छ ।
हिमोफिलिया प्रभावित व्यक्तिहरु चोटपटक लाग्न सक्ने स्थानबाट सकभर जोगिनुपर्ने हुन्छ । शरीरमा रगत जमाउने आवश्यक तत्वमध्ये कुनै तत्वको मात्रा एक प्रतिशतभन्दा कम भएका गम्भीर हिमोफिलिया, एकदेखि पाँच प्रतिशतसम्म भएमा मध्यम हिमोफिलिया र पाँच प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भनिन्छ । दाताले उपलब्ध गराएको ‘कोगुलोमिटर’ उपकरण उपयोगमा नल्याइनु भनेको यो रोगबाट पीडितहरुमाथिको खेलबाड हो । त्यसैले यथाशीघ्र उक्त उपकरण सञ्चालनमा ल्याउने कार्यमा सरोकारवाला सबै जिम्मेवार बनून् ।