बुधबार प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ । देशको कार्यकारी अधिकार प्राप्त व्यक्ति अस्पतालको शैय्यमा हुँदा जनताले स्वास्थ्यलाभको कामना गर्नैपर्छ । प्रधानमन्त्री यो देशको कमान्डर हुन् । उनको योजनाले मुलुकमा केही न केही परिवर्तन ल्याउने सम्भावना बोकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको १३ वर्षअगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि उनको दोस्रोपटक प्रत्यारोपण गरिन लागिएको हो । यसअघि उनलाई आफ्नै भाइबुहारीले मिर्गौला दिएकामा अहिले भान्जीले मिर्गौला दिने भएकी छन् । प्रधानमन्त्रीलाई मिर्गौला दिएर देश र जनताका लागि त्याग गर्न खोज्ने ती महिलालाई पनि सलाम गर्नैपर्छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । बुधबार मिर्गौला प्रत्यारोपण गर्न सोमबार बेलुका उनी अस्पताल भर्ना भएका हुन् ।
उनलाई मिर्गौला दिन तयार भएकी भान्जी पर्ने समीक्षा पनि सोमबार नै अस्पतालमा भर्ना भएकी छन् । स–सानो रोगको उपचार गर्न नेताहरू र विशेषगरी सरकारमा बस्नेहरूले सरकारी खर्चले विदेशमा उपचार गरेको भनेर अत्यन्तै विरोध गर्दैगर्दा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण, त्यो पनि दोस्रोपटक (जसलाई अत्यन्तै गम्भीर र जटिल मानिन्छ) नेपालमै गर्ने भएपछि आमनागरिकले उनको स्वास्थ्य लाभ र प्रत्यारोपणको कामना गरिरहेका छन् । समृद्ध देशको सपना देख्ने व्यक्ति अहिले प्रधानमन्त्री छन् । राष्ट्रवादको नारामा प्रधानमन्त्री बनेका व्यक्तिले साँच्चै मुलुकमै उपलब्ध प्रविधिमाथि विश्वास गरेर उपचार गराउनु नेताहरूका लागि पाठ हुनुपर्छ । ज्वरो आएको खण्डमा सिंगापुर गएर उपचार गराएको भनेर नेताहरूको उछितो काढिरहँदा प्रधानमन्त्रीले स्वदेशमै उपचार गराउनुलाई जति प्रसंशा गरे पनि कमी नै हुन्छ ।
प्रधानमन्त्रीले चाहेको हो भने जतिसुकै खर्च गर्नुपरे पनि राज्य कोषबाट खर्च बेहोर्नुपर्छ । सरकार प्रमुखको उपचारमा कुनै कमी हुनुहुँदैन । उनले चाहेको भए विश्वको सबैभन्दा बढी सुविधा सम्पन्न अस्पतालमा उपचार गरिनुपथ्र्यो । तर, मिर्गौला प्रत्यारोपण त्यो पनि दोस्रोपटक, स्वदेशमै गराउने निर्णयलाई जनताले प्रशंसा गर्नैपर्छ । प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपण सफल भएर उनी स्वस्थ भएर फर्कनुपर्छ । सारा देश र जनताले यहि कामना गरिरहेका छन् । हजार कमजोरी होलान्, कतिलाई कति कति कुरा मन नपरेका होलान् । ती सबै कुराहरू तपशिलका कुरा हुन् । यतिबेला सबै विर्सेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नुपर्छ । एक देशको प्रधानमन्त्रीको सारा सपना देशको हुन्छ । उनको योजना जनताको हुन्छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर आमजनताले चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले आफ्नै मुलुकमा, आफ्नै देशमा प्रत्यारोपण गराउने गरेको निर्णय भविष्यमा पनि नेताहरूलाई पथप्रदर्शक हुनुपर्छ प्रधानमन्त्रीको पुनः मिर्गौला प्रत्यारोपण सफल होस् । उनको उपचारमा संलग्न सबै चिकित्सकको टोली, अस्पताल र प्रधानमन्त्रीको अदम्य साहसले सार्थकता पाओस् । फेरि पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६ ०६:४३