- दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित
- टेस्ट राष्ट्रमाथि ऐतिहासिक जितबाट चुक्यो नेपाल
- दक्षिण अफ्रिकाले खेल जित्यो, नेपालले मन
- हारसँगै नेपाल विश्वकपबाट बाहिरियो, अन्तिम खेल बंगलदेशसँग खेल्ने
काठमाडौं– नेपालले विश्व क्रिकेटमा शानदार उपस्थिति जनाएको छ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपअन्तर्गत शनिबार बिहान दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको हो । यद्यपि, नेपाल एक रनको पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किंग्सटाउन रंगशालामा भएको खेलमा टेस्ट मान्यताप्राप्त राष्ट्र दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित नजिक पुगेको नेपाललाई भाग्यले साथ दिएन । अन्तिम ओभरमा आठ रन चाहिएको थियोे । क्रिजमा रहेका गुल्सन झाले लगातार दुई बलमा रन बनाउन सकेनन् । तेस्रो बलमा चौका प्रहार गरेका उनले चौथो बलमा दुई रन बटुल्दै नेपाललाई जित नजिक पुर्याए ।
अन्तिम दुई बलमा दुई रन मात्र चाहिएको थियो । एक रन जोडे खेल सुपर ओभरमा धकेलिन्थ्यो । तर, चर्को दबाबमा परेका झाले पाँचौं बल डट खेले भने अन्तिम बलमा रनआउट भए । र, नेपालको सुपर–८ मा पुग्ने सम्भावना समाप्त भयो ।दक्षिण अफ्रिकासँग हार बेहोरे पनि नेपालले विश्वभरका क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले खेलपछि आफ्नो पेजमा लेखेको छ, ‘दक्षिण अफ्रिकाले खेल जित्यो, नेपालले मन जित्यो ।’ उक्त खेलका होस्टहरुले नेपाल र दक्षिण अफ्रिकाबीचको खेल ‘जारी प्रतियोगिताकै उत्कृष्ट खेल’ भएकोसमेत विश्लेषण गरे ।
खेलमा कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका थिए । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ११५ रनभित्र समेट्न सफल भएको थियो । दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालका लागि कुशल भुर्तेलले चार र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ११४ रनमात्र बनाउन सक्यो । कुशल भुर्तेल र आशिफ शेखले ‘पावर प्ले’मा विनाविकेट ३२ रन बनाएका थिए । नेपालले पहिलो विकेटको रुपमा कुशललाई गुमाएको थियो । उनले १३ रन बनाएका थिए । उनीपछि आएका कप्तान रोहित पौडेल शून्य रनमा आउट भए । त्यसपछि नेपालको पारीलाई आशिफ र अनिल शाहको जोडीले सम्हालेको थियो । अनिल २४ बल सामना गर्दै २७ रन बनाएर बाहिरिए ।
नेपालले १३.४ ओभरमा ८५ रन बनाएको थियो । त्यसपछि ब्याटिङका लागि दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भएका थिए । ९९ रनमा तीन विकेट गुमाएर खेलिरहेको नेपालले थप एक रन बनाउँदा आशिफ, कुशल मल्ल र ऐरीलाई गुमाएको थियो । दक्षिण अफ्रिकाका बलर तार्बेज साम्सीसामु खुलेर खेल्न नसकेपछि नेपालले हात पारिसकेको जित दक्षिण अफ्रिकालाई सुम्पन बाध्य भएको थियो । त्यसअघि दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्ड्रिक्सले ४३ रन र ट्रिस्टान स्टब्सले २७ रन बनाएका थिए । डिकक १० रनमा आउट भएका थिए । त्यस्तै कप्तान एडेन माक्रम १५ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
भुर्तेलले चार ओभरमा १९ रन दिएर चार विकेट लिँदा ऐरीले चार ओभरमा २१ रन दिएर तीन विकेट लिए । नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा १८ रनमात्र दिए पनि विकेट निकाल्न सकेनन् । लामिछाने अदालतबाट सफाइ पाएर पहिलोपटक टोलीमा समावेश भएका हुन्. । अमेरिकाले भने उनलाई भिसा दिन दुईपटक अस्वीकार गरिसकेको छ । यो खेल जितेको भए नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने इतिहास बन्ने थियो । साथै, नेपालको जारी प्रतियोगिताको सुपर–८ मा पुग्ने सम्भावना जीवित रहने थियो । पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपालले श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण खेल्न पाएन । त्यसैले दक्षिण अफ्रिकामाथि जित निकाल्नैपर्ने दबाबमा थियो । अब अन्तिम खेल नेपालले बंगलादेशविरुद्ध खेल्ने छ ।
दक्षिण अफ्रिकाको इनिङमा जम्मा दुई छक्का
दक्षिण अफ्रिकाले पूरा इनिङमा जम्मा २ वटामात्र छक्का प्रहार गरेको थियो । सोमपाल कामीको एक बल र कुशल भुर्तेलको एक बलमा मात्र छक्का प्रहार भएको थियो । नेपालको इनिङमा भने जम्मा चार छक्का प्रहार भएको थियो । नेपालका लागि कुशल भुर्तेल, सोमपाल कामी, अनिल शाह र आशिफ शेखले एक÷एक छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकाले जम्मा १० वटा चौका हानेको थियो भने नेपालका तर्फबाट नौ वटा चौहा प्रहार भएका थिए ।
राम्रो खेलेर पनि हार्नुपर्यो : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्ध नेपालले राम्रो खेलेको बताएका छन् । दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएपछि प्रतिक्रिया दिँदै उनले राम्रो क्रिकेट खेल्दा पनि हार बेहोर्नुपरेको बताएका हुन् ।
‘दुई बलमा दुई रन चाहिएको थियो । तर, टी–२० यति फास्ट छ जतिबेला पनि गेम यताउता जान्छ । मोमेन्टम चाँडै चेञ्ज हुने भएको कारण ओभरल हेर्दा सबैमा राम्रै गर्यौं जस्तो लाग्छ,’ उनले पोस्टम्याच प्रेस कन्फ्रेन्समा भने ।
यो पिचमा स्पिनरले आफ्नो योजनाअनुसार नै प्रदर्शन गरेको उनले बताए । ‘मलाई हाम्रो टोलीमा गर्व छ, विशेगरी ब्याटिङ र बलिङमा । विकेट हेर्दा हामीलाई स्पिनरको मद्दत मिल्छ भन्ने थाहा थियो, त्यसैले हामी स्पिनरहरूलाई बढी बलिङ गर्न लगायौं,’ उनले भने ।