काठमाडौँ - नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली नागरिकता प्राप्त एनआरएनहरुलाई नेपालमा हवाई यात्रा गर्दा नेपाली नागरिक सरह शुल्क तोक्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभामा बजेट विनियोजन सम्बन्धी छलफलमा भाग लिंदै सांसद गिरीले संविधान बमोजिम गैर आवासीय नेपाली नागरिकता दिइ सके पछि भेदभाव गर्न नहुने बताए। "एनआरएन नागरिकता वाहक गैर आवासीय नेपालीलाई नेपाल भित्र हवाई यात्रा गर्दा नेपाली सरह भाडा तोक्न म माग गर्दछु ।"
हाल सम्म हजारौं एनआरएनहरुले नेपाली नागरिकता लिइ सकेको अनुमान गरिएको छ।सांसद गिरीले नेपाली जहाजहरुलाई युरोपेली संघ (इयु) ले सन् २०१३ देखि नै कालो सूचीमा राखी राखेको बताउंदै उक्त सूची बाट नेपाललाई निकाल्न कूटनीतिक पहल गर्न माग गरे। "इयुको कालो सूचीमा रहँदा ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले २० गन्तव्यमा मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ," उनले भने।
"इयले नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्दै प्रविधिमैत्री बनाएर हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा ध्यानकर्षण गराए पनि यसको प्रगति के भएको छ यसबारे जानकारी गराउन सरकारसंग माग गर्दछु," सांसद गिरीले भने।