आहा ! कति मिठो अचार । चट्ट जिब्रो ट्वाक्क पारेर पड्काउँदा कम्ती मज्जाको स्वाद आउँछ । त्यही भएर त आजकल अर्थको अचार खान सप्पै पल्किएका छन् । सिंहदरबारदेखि स्यालदरबारसम्मका सेतो कपडाका लगाउनेहरु खुब अचार खान पल्केका छन् ।
अन्यायलयदेखि विद्यालयसम्म पनि भ्रष्ट अचार कम्तीको स्वादिलो हुन्छ र ? त्यही भएर त होला नि रणबहादुर कोपुण्डोलको रणभूमिमा परे ! विद्यालयका साहु÷गुरुहरु गोरु हुन थाले । सबका विचार भ्रष्ट अचारजस्तै चटनी हुन्छ ।अन्यायलयमा न्याय बिक्री हुने ! सिंहदरबारबाट मान्छे बिक्री हुने ! स्कुलबाट विद्यार्थी बिक्री हुने ! अस्पतालमा डाक्टर बिक्री हुने, सञ्चार गृहबाट सत्य तथ्य समाचार बिक्री हुने ! सबै लाचार भएर अचार खाको खाई !
अहिले त जनप्रतिनिधि पनि उस्तै । बेलाबेला अचार चट्काउनै पर्ने, त्यही भएर होला रातो घरले बेलाबेला घच्घच्याउनुपर्ने । त्यो रातो घर पनि कस्तो कस्तो ! अचार खानेहरुसँग पनि विचार खाइदिने । शुद्ध हुन पनि मुस्किल । शुद्ध भएकालाई सास फेर्न पनि गाह्रो । असिन पसिन भएर काम गर्नुपर्ने ।
भ्रष्ट अचार खाएर भ्रष्ट विचार बोक्नेकै दबदबा चल्या छ । हात्तीका देखाउने दाँत भनेजस्तै । बाहिर हेर्दा साधु तर भित्रभित्र निकै नै ठालु ! त्यही भएर पो पाँडे काकाले भन्या रैछन् त । बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन !पाँडे काका निकै बोल्ने । थर्काएर हुन्छ कि तर्साएर हुन्छ । अचार त चटनी नै हो नि ट्वाक्क पार्ने चाट्ने । कम्ता मिठो हुँदैन र ! त्यसै पाँडे काकाको बास साँझ पातले वनमा हुने हो र ? शुक्रबार आउनु हुँदैन पाँडे काका जंगल चर्न जानुपर्ने बानी परेको छ । हात्ती देखिने पातलो वनमा अरे !
पाँडे काकाको पातले वनमा हात्ती काण्डले स्यालहरु हुँइया हुँइया गर्दैै थिए । जंगली हात्तीले एउटा आवाज निकाल्नेबित्तिकै स्यालहरु कुलेलम ठोके । त्यही भएर पो चित्रे दाइलाई अस्ति झण्डै भकुरेका रैछन् त पाँडे काकाले । तीनपाने र तीन महले मिलाएर अचार खान खोज्दा, सुझ न बुझ टुँडिखेलमा कुद भनेजस्तै भएछ ।विचार र आचार दुवै भ्रष्ट भएपछि खाने पनि घूस, सुत्ने पनि घूस, बोल्न पनि घूस, हिँड्दा पनि घूस । अनि कुरो अलि मिलेन भने जनार्दन झूठ नै झूठ ।
यता सुब्बा साबले फाइल घुमाउनु र अन्यायलयमा न्याय नपाउने उस्तै हो । कागजको खोस्टोको अचार चाट्न नपाएसम्म केही नै नहुने । दुई–चार जना भगवान नै जन्माउनु पर्ला जस्तो । सुब्बासापले ३० हजारको तलब खान्छन् अनि तीन करोडको सेयर डुब्यो भन्छन् ! धन्न राजा गाउँमा तीन तले तीनवटा घर जोहो गरेका भएर अहिलेसम्म पापी पेट पालिरका छन् !
कोटेसनविनाको कामै नहुने । सेतो डे«ेस लगाएपछि त केको धङधङती के को ! अझ चुनावै जितेपछि त एऽ बाऽ कुरै नगरौं ! चित्रे दाइले त्यसै कहाँ भन्या हुन् । कताको सेटिङ हो कताको अचारको सेटिङमा बसेका छन् कि विचारको सेटिङमा बुझ्नै मुस्किल ! अखबारमा आको कुरा र मुहार पुस्तिकामा पोस्टाका अनि ट्युबेले देखाको कुरालाई हो रैच भन्ने हो भने त जहाज नै डुबि गो । ऊ बेला काँचा पर्दामा भ्यागुतो उफ्रिए जसरी उफ्रिँदै ‘टुँडिखेलमा राखेर नाकको डाँडी भाँच्नु’ भनेजस्तै हो ।
बिहान घर सहजै आको मान्छे बेलुका घर पुग्दा सम्बन्ध बिच्छेद्को कुरा चलिसक्या हुन्छ । कसले उचाल्ने हो कुन्नि ? जोड्ने र तोड्नेकै ताँती । त्यसै हो र भन्या त्यहाँ पनि त जुस र घूसको कुरो चल्दो रैछत । चित्रेदाइले त्यसै कुटाइ भेटेका हुन् र ? पाँडेलाई यो गर्मीमा जुस नखाई नहुने । कुर्सीमा भन्दा सोफा बढी भेटिन्छन् उनी पनि । पाँडेकाकाले जुस माघको चित्रेले खामभित्र घूस दिएर पठाएछ । अनि के गरेको त्यो भन्या रे ? अस्तिको भाग पो भन्छ बा ! रातो घरमा पुगेका मुद्दा पनि यता टाल्यो उता भ्वाङ पर्छ उता भ्वाङ प¥यो यता चिप्लिसक्छ ।
कालोकोटैले छ महिने जागिरै खाएँ है । भनेजस्तो । सबै उसले मिलाउने । अरूको सबै बोल्न मिल्ने चित्रेले सूचनाको हक भन्न पाउने अनि त्यही अन्यायलयका विषयमा कुरा गर्न नपाउने भन्ने पनि हुन्छ ? कालोकोटेले फाँटवाललाई, न्यायमूर्तिलाई नै अचार चटाइदिने अनि काम फत्ते ! नपत्याउने खोलाले बगाउँछ भन्थे । हो कि जस्तो लाग्छ । कहिले दाहिने हातले खानुपर्ने देब्रे हात चलाइदिएपछि कसको बाउको के लाग्छ ? यो अर्थ अचार भनेको पनि निकै नै स्वादिलो ! खाँदिन भन्दा भन्दै पनि खुवाउन पाउने । विश्वासै नलाग्ने पनि खाइदिने । मुखमा राम राम बगलीमा छुरा भनेजस्तै !
कुरा सुन्दा एउटा, काम गर्दा अर्कै । होला र भने जस्तो हुने ! तर भएर छाड्ने । कहाँबाट खाने खाने । कसलाई प्रयोग गराएर खाने खाने ? जुस खाएजस्तै मस्तले घूस खाइदिने । भ्रष्टाचारको अचारको स्वादलाई छाड्नै नसक्ने । कस्तो नसा हो कस्तो ? बुझिनसक्नुको । भ्रष्टाचारको अचार खाएपछि विचार अरू आउने त कुरै छैन । भ्रष्ट अचार खाने भ्रष्ट विचार आउने । हैन खान्न भन्न नि पाउँदै नपाउने । धेरै ल्याङल्याङ गरे सिस्टमलाई देखाइदिने !
चाहे पानी पिलाउनु वा सर्वत पिलाउनुस् । बाटो बनाउनुस् कि पहाड बगाउनुस् । विद्यालय चलाउनुस् कि विद्यालय जलाउनुस् । न्यायालय देखाउनु कि बिकाउनुस् तर सिस्टमचाहिँ बिगार्नु भएन हजुर । लौन हजुर यो त प्रसादी हो ! भगवानले पठाएको प्रसाद ! पदमा बसे पनि यो अचार १० पर्सेण्ट त सिस्टम हजुर ! सिस्टम त बिग्रनै भएन नि हजुर ! अरू जेसुकै बिग्रियोस् । अचार विचार बिगार्नुचाहिँ हुँदै भएन । त्यसैले भ्रष्ट अचार, भ्रष्ट विचारको जय जय होस् ।