काठमाडौं - मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।
बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो ।
योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ ।
समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गनुपर्ने हुन्छ । कार्यकारी निर्देशक लामिछाने वर्षा बढ्न थालेको भन्दै योसँगै नदी धमिलिने खतरा बढिरहेकाले आयोजना बन्द गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे । गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो । नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव झन्झन् बढ्ने भन्दै खानेपानी आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिए । “मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट सुक्खा याममा नौ करोड लिटर पानी दैनिक उपभोक्तालाई वितरण गरिरहेका छौँ । सो अवधिभर करिब ४० प्रतिशत भूमिगत पानीबाट आपूर्ति हुन्छ”, उनले भने, “मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ । मेलम्चीको विकल्पमा अन्य आयोजनाको खोजी गरी तत्काल कार्यान्वयन गरिनुपर्छ ।” प्रवक्ता राईले काठमाडौँमा दैनिक ४३ करोड खानेपानीको माग रहेको जनाउँदै आवश्यकता र मागअनुसार पानी आपूर्ति गर्न नसकिएको बताए । उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमीगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानीको अभाव बढिरहेको उनको भनाइ छ ।