काठमाडौं– बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ ।
कम्पनीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजनले हवाई यात्रा नगर्न तथा विमानस्थलमा पनि नआउन आह्वान गरेको हो । कम्पनीले टिकट काटिसकेका यात्रुमा पनि त्यस्तो समस्या भएमा बरु यात्रा रद्द गर्न सुझाव दिँदै टिकट रद्द गरेबापत नियमानुसार भाडा फिर्ता गरिने जनाएको छ । कोरोना भाइरसको प्रकोप संसारभरि फैलिरहेकाले अवस्थामा त्यसका लागि सबैले सावधान अपनाउनै पर्ने हुँदा मुख्य लक्ष्यण देखिएका व्यक्तिले जहाजको यात्रा नगर्न र विमानस्थल नगइदिन सूचनामा भनिएको छ ।
यसअघि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै विमानस्थलबाट आवत–जावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजनलगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६ ०७:०६