काठमाडाैं - प्रविधिमैत्री युगको आवश्यकतालाई ध्यानमा राख्दै दुई दिने प्रविधिमैत्री पत्रकारिता तालिम सम्पन्न भएको छ । काठमाडाैंकाे सिमलटारमा रहेकाे सिदार्थ हाेटलमा तामाङ पत्रकार संघकाे आयोजनामा बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा समितिका अध्यक्ष राजकुमार लामाकाे प्रमुख आथित्यमा साे दुई दिने तालिम समापन गरेकाे हाे ।
आयोजित तालिममा ४० भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए । दुई दिने तालिममा डेटा पत्रकारिता, डिजिटल सुरक्षा, सोसल मिडिया व्यवस्थापन र मल्टिमिडिया उत्पादन जस्ता विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो । नेपाली पत्रकारहरूलाई आधुनिक प्रविधिको उपयोग र प्रभावकारी सूचना सम्प्रेषणका लागि आवश्यक सीपहरू प्रदान गरेको प्रशिक्षर्थीहरुले बताएका छन् ।
समितिका अध्यक्ष राजकुमार लामाले तालिमको समापन समारोहमा सम्बोधन गर्दै भने, "प्रविधिको सही उपयोगले मात्र हामीले विश्वसनीय र प्रभावकारी पत्रकारिता गर्न सक्छौँ । यो तालिमले हामीलाई नयाँ युगको पत्रकारिताको लागि तयार पारेको छ ।"अध्यक्ष लामाले विश्वसनीय र गुणस्तरीय समाचार मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।‘पत्रकारले स्वतन्त्र रहेर सत्यतथ्य समाजमा पस्किने हाे । पत्रकारिता कठिन विषय रहेकाेले मेहनत गरेर अगाडि बढ्न सकेमा सफलता प्राप्त गर्न सकिन्छ’, उनले भने ।
यस्तै सङ्घका संस्थापक अध्यक्ष एवं लेखक रवीन्द्र तामाङले नेपालको छापा माध्यमका पत्रिकाहरू प्रविधिको विकाससँगै अन्ततिर गइरहेको बताउँदै अब प्रविधिसँगै पत्रकारहरू पनि अपडेट हुनुपर्ने बताए ।प्रमुख प्रशिक्षकका रुपमा सञ्चु ब्लाेन र रजनीश भण्डारी रहेका थिए । आयाेजकले तालिमको समापनमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरेकाे छ । तालिमको सफल समापनसँगै नेपाली पत्रकारितामा प्रविधिमैत्री दृष्टिकोणलाई थप प्रोत्साहन मिल्ने र सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाउने विश्वास लिएको आयोजकले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष सुवास योन्जनले पत्रकारिताको भविष्यलाई प्रविधिसँग जोडेर मात्र अघि बढाउन सकिने भन्दै यस किसिमका तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।कार्यक्रममा समितिका कार्यकारी निर्देशक शान्तिमाया बल, सदस्यत्रय सुरज रुम्बा, रब्बा शेर्पा र जानुका भण्डारी, तामाङ संस्कृति घेदुङका सदस्य लगायतको उपस्थिति रहेका थिए ।
तालिममा एनटिभी नेपाल, प्रभाव दैनिक, सैलुङअनलाइन, नयाँ पत्रिका, रेडियो सगरमाथा, जोयनेपाल, तामाङ भ्वाइस, मातृका सन्देश, ग्लोबलमिडिया, थाहासंचार, रेडियो लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू सहभागी थिए ।