काठमाडौं - चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक एवं प्राविधिक सहयोगमा फेम्ली हेल्थ इन्टरनेशनल ३६० (एफएचआइ) का साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना कार्यान्वन गरिराखेको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेपाल भ्रमणमा रहनुभएका ‘एफएचआइ ३६०’ का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँग आज नगरपालिकामा भएको द्विपक्षी भेटवार्तामा नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वच्छ हावामार्फत नगरवासीको जीवन सुधारका लागि शिक्षा, स्वास्थ्य तथा वातावरण व्यवस्थापन नगरपालिकाबाट भइराखेका प्रयासका बारेमा जानकारी दिए ।
साेही अवसरमा ‘एफएचआई ३६०’ प्रमुख वित्त अधिकृत पद्मापेरुमाले चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएकामा बधाई दिँदै यसले जलवायु परिवर्तनले आर्थिक एवं सामाजिक क्षेत्रमा पार्ने असरलाई घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ : सवारी प्रदूषण जाँच तीव्र
चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने नीति लिएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिँदै आएको छ । वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारीसाधनबाट निस्कने धुवाँलाई लिइन्छ ।
यस्ता परीक्षणमा ‘फेल’ भएका सवारीसाधनलाई नगरक्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ । युएसआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले भने ,“नगरपालिकाको यस्तो नीतिले काठमाडौ उपत्यकाको वायुको गुणस्तर व्यवस्थापनमा कोशेढुङ्गाको काम गर्छ । ”
साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल, ग्यास र डिजेलबाट चल्ने सवारीसाधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता नीति समेत लिएकोे छ । विश्वस्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमका रूपमा लिएको छ । स्टेट अफ ग्लोबल एयर २०२० ले सन् २०१९ मा नेपालमा वायू प्रदूषणका कारण ४२ हजार एक सय जनाको अकालमा मृत्यु भएको जनाएको थियो । तीमध्ये काठमाडौँमा मात्र पाँच हजार ८० जना रहेका थिए । कचौरा आकारको काठमाडाैं उपत्यकाको द्रुत सहरीकरणले गर्दा वायु प्रदूषणको उच्च जोखिममा रहेको जनाइएको छ ।