दैलेख – दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य चार आरोपितमध्येका एकजनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएसँगै जिल्ला अदालत दैलेखले मङ्गलबार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । फरार रहेका दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भनिने बमबहादुर खड्कालाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
प्रहरीका अनुसार हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरीएको थियो । विसं २०६१ साउन २७ गते नौमूलेको द्वारीमा माओवादी कार्यकर्ताद्वारा मर्नेगरी कुटि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेको आरोप लागेको छ । धेरै खोजीपछि मात्र २०६५ को वर्षायाममा नौमूले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ स्थित नेरा निमावि नजिकैको जङ्गलमा पत्रकार थापाको शव फेला परेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६ ०९:०७