असार १५ लाई नेपालीहरुले महत्वपूर्ण दिनको रुपमा मनाउँदै आएको छ । विशेषगरी किसानहरुका लागि यस दिनले विशेष महत्व राख्दछ । प्रत्येक वर्ष असार १५ गते दही चिउरा खाएर मनाइने सांस्कृतिक परम्परा रहेको छ । साथै, सरकारले केही वर्षयता यस दिनललाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।
‘मुठी रोपेर मुरी उमार्ने’ महिनाको रुपमा चिनिन्छ असार । यो महिना देशभरका किसानहरु रोपाइँमा व्यस्त हुन्छन् । सिँचाइको सुविधा नभएका अधिकांश क्षेत्रमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । समयमा पानी नपरिदिँदा किसानले रोपाइँ गर्न पाउँदैनन् । जसले धान उत्पादनमा असर पुर्याउने गरेको छ ।
शनिबार अर्थात् देशभर दही चिउरा खाएर असार १५ मनाइयो । यसैगरी राष्ट्रिय धान दिवस मनाउन प्रधानमन्त्री, मन्त्रीलगायत खेतमै पुगे । यता राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमै रोपाइँ गरेर धान दिवस मनाए । पछिल्लो समय असार १५ नेताहरुको जात्रा जस्तै बनेको छ । एक दिन खेतमा पुगेर हिलो खेल्दै धान रोपेको देखाएर नाटक मञ्चन गरिरहेका हुन्छन् । जुन कार्य यो वर्ष पनि देखियो । यस दिनको महत्वलाई सार्थक बनाउन नेताहरुको यो हर्कत आवश्यक छैन । बरु किसानका समस्या हल गर्न पहल गरेर उनीहरुलाई सहजीकरण गरिदिनु आवश्यक छ ।
किसान कहिले पानी नपरेर त कहिले मलको अभावमा रोपाइँ गर्न नपाएको पीडामा हुन्छन् । यो वर्ष पनि केही स्थानका किसानहरुले मल नपाएको गुनासो गरिरहेका छन् । यस्ता समस्यामा चासो नदिने नेताहरु एक दिन हिलोमा लटपटिएर जात्रा देखाउनुको के अर्थ ? भन्नलाई कृषिप्रधान देश भन्ने तर खाद्यान्न आयातमै भर पर्नुपर्ने अवस्था छ । खेती किसानी गर्ने किसानको मर्का सरकारले नबुझिदिँदा खेती गर्नुको सट्टा वैदेशिक रोजगारीतर्फ लाग्नेको संख्या बढ्दो छ । भएका किसानलाई यही पेसामा टिकाउन सरकारसँग योजना छैन ।
धेरै स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा आकाशेपानीको भर पर्नुपर्ने भएकाले देशका सबै भागमा पानी नपरेका कारण असार १५ बितिसक्दा पनि हुनुपर्ने जति रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाए पनि कतैकतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् । खेतमा गएर एक दिन जात्रा देखाउनुभन्दा यस्ता कुरामा ध्यान दिन सके किसान र देश दुवैका लागि लाभ हुने निश्चित छ ।