काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् ।
आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिएका हुन् ।
‘प्रधानमन्त्री ले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उनले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका छन् ।
सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गए राति सहमति गरेका थिए । उनीहरूले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।