लमही- नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ । आइतबार लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिकलगायत विभिन्न प्रस्तुति गरिएका थिए । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको यात्रा बुटवल हुँदै लमही पुगेको हो ।
सोमबार बाँकेको कोहलपुर र मंगलवार नेपालगन्जमा यस्तै कार्यक्रम हुँदैछन् । युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।
संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै ८ दशकदेखि रहँदै आएको छ । युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।
युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रमार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पुर्यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए । सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर (१ खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ ।
स्मरण रहोस् नेपालको पहिलो राजमार्ग (सन् १९५५), काठमाडौंमा पहिलो नर्स ट्रेनिङ स्कुल (सन् १९५६) मा युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएका हुन् । युएसएडको सहयोगमा नै सन् १९५९ मा देशको पहिलो आधुनिक टेलिफोन एक्सचेञ्ज र रेडियो नेटवर्क स्थापना भएका हुन् । दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मुलनमा सहयोग गरेको युएसएडले शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
त्यस्तै उसले कोभिड–१९ सङ्कटको समयमा नेपाललाई खोप, आवश्यक वस्तु र प्राविधिक सहायता प्रदान गरेको थियो । युएसएडको सहयोगबाट मुख्यगरी कुनै समय मानिस बस्न नसक्ने देशको भूभागलाई कृषि फस्टाउन योग्य बन्न, साक्षरता दर र औषत आयु दोब्बर बनाउन, बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पुगेको छ ।