गुहार गुहार ? अलि काँपेको स्वरमा चिच्याएको आवाज आउँछ । ठूलै विपद्मा परेको भान हुन्छ । लौन के गर्ने बढेको बढ्यै छ । सुन्तली भाउजु हारगुहार गरिरहेकी छन् । सुन्तली भाउजुले गुहार मागिरहँदा यताउता दायाबायाँ सबैतिर कोलाहल सुनिन्छ । कोही चिच्याउँदै छन् । कोही साहारा मागिरहेका छन् । तर न सुन्ने कोही छ न साहारा दिने ।
दले काकाको बिछ्यौनासम्म पानी पुगिसकेको छ । ४६ सालको आन्दोलनमा थापाथलीमा जुलुसमा जाँदा बाँसबारी छाला जुत्ता कारखानामा बनेको छालाको बुट अनि नर्कट–कटवासको लाठी खाका कारण दलेकाका अहिले ओछ्यानमै परेका छन् । पुलिसले ठटाएकै कारण लामो समय उपचार गर्न डाँडा खेत बेचे, लामपाटो बेचे तर निको भएनन् ।
दलेकाकाको शरीर दिनप्रतिदिन कमजोर बन्दै गयो । उनले गरेको आन्दोलनकै कारण धेरै साथीहरु देश हाँक्ने ठाउँमा पुगे । सत्ता समीकरणमा रमाउने थाले । तर दलेकाका भएभरको जायजेथा बेचेर उपचार नभएपछि धेरै समय त्यही बबरमहलको पुल छेउ प्लास्टिकको छाप्रो राखेर वीर अस्पताल आउजाउ गर्न थाले ।
वीर अस्पताल र बबरमहल आउजाउ गर्न पनि उनलाई बिस्तारै कठिन हुन थाल्यो । प्रजातन्त्र आएपछि त धेरै सुख होला, जनजीविका सहज होला, काम पाइएला सामन्तवादबाट समाजवादको मुहार देखिएला भन्ने आशामा आन्दोलनमा होमिएका दलेकाकालाई त्यही बबरमहलको छाप्रोबाट पनि लखेटियो । अनि खच्याङ–खच्याङ गर्दै सुन्तली भाउजूको देब्रे हात समातेर प्लास्टिक टाँगेको बाँसका कप्टेर बोकेर दोभान छेउ बसाइँ सरे ।
उनीसँग राजनीतिमा होमिएकाहरु त्यही बाटो भएर सिंहदरबार छिर्थे र जनतामाथि शासन गर्ने नियम बनाउँथे । गरिबका नाममा योजना बनाउँथे अनि विदेश सयर गर्थे । अनि आफूलाई निकै नै रुपान्तरण गरिसकेका थिए । तर दलेकाकाहरुको जीवन केवल ‘भोट बैंक’ बाट कहिल्यै पनि रुपान्तरण हुन सकेन ।
वर्षको हिसाबले ३३ वर्ष कट्यो, तर दलेकाकाको जीवनमा कहिल्यै परिवर्तन आएन । पटक–पटक बाढी आयो तर उनको जीवनमा खुसी आएन । दर्जनौं नेता छान्न मत हाले तर मतको कदर भएन । सामाजिक रुपान्तरण गरेर सामन्त प्रथाको अन्त्य हुनुपर्छ भनेर संघर्ष गरेका उनी अहिले आधुनिक सामन्तबाट शोषित भएका छन् । घरबार राम्रै भएका दलेकाका घरबारविहीन बनेका छन् । हुकुमेहरुलाई तह लगाउने भन्दै ‘मुर्दावाद’ घन्काएका उनी ‘सुकुम्वासी जिन्दावाद’ मा कठिन जीवन काटिरहेका छन् ।
हिजो मुर्दावादमा रमाएका दलेकाका सकिनसकी जिन्दावाद भन्दा भन्दै आफ्नै शरीरलाई धान्न नसकेर बैगुनी छालाको बुट स्मरण गर्दै रुपान्तरण भएका साँइदुवाहरु सम्झेर पिलपिल आँखाबाट आँसु चुहाइरहेका छन् । वर्षौंदेखि ओछ्यान लागेका उनको छाप्रोभित्र रोएको आकाशले बागमतीका आँसु पछारिदिएको छ ।धेरै वर्षपछि दलेदाइको छाप्रोमा बागमती आफैं भेट्न पुगेको छ । बागमतीविरुद्ध सुन्तली भाउजू नारा जुलुस गर्दै साहारा खोजिरहिन् । तर साहारा किन पाइन्थ्यो ! बागमतीले छाप्रोलाई चुर्लुम्म पारेको छ । दलेकाका लम्पसार परेर काठेघाटमा पल्टिएर उठ्न सकेका छैनन् । तर बागमती दलेकाकालाई अंकमाल गर्न खोजिरहेको छ ।
सुन्तली आफ्ना आधा संसारलाई बागमतीले अंकमाल गर्न खोजेपछि चिच्याउनेबाहेक विकल्प केही देखिरहेकी छैनन् । बागमती अझै माथिमाथि हुँदै गइरहेको छ । कति हरामी होला ? ३३ वर्षदेखि हिमचिम भएको दलेकाकालाई चिन्न नसकेको बागमतीले । हुन न बागमतीले पनि किन छाड्थ्यो र ! दलेकाकाले ऊ माथि पनि त थिचिमिचो गरे भन्ने दुखेको छ । दुवै विचरा ! दलेकाका भएर पनि सिद्धिएका बागमती सिद्धिएर पनि बेलाबेलामा उग्ररुपमा निस्किएका । कसले कसलाई थिचोमिचो गरेको हो भन्ने खुट्याउन नै गाह्रो भएको छ । दलेकाका बाध्यताले बागमतीमाथि जागेका थिए । कुनै उपाय पनि थिएन । बागमतीमा राजनीति गर्नेहरुले दलेकाकाहरुको रुपान्तरण खोज्दै खोजेनन् । बरु दलेकाकाहरुलाई दलदलमै फसाइरहे ।
दलेकाका बाध्यतामा त्यही बागमतीमा कुक्रिए । तर यो वा त्यो नाममा बागमतीमा आँखा गाड्नेहरु क्रमशः भित्रिँदै गए । सुकुम्वासीका नाममा ती लोभी आँखाहरुले दलेकाकाहरुमाथि धावा बोल्दै गए । संघर्षमा उदाएका दलेकाकाहरुलाई दलदलमा फसाएर पटक–पटक आफ्नो स्वार्थअनुकूल प्रयोग गर्नेहरु सक्रिय भए ।पटक–पटक नेता फेरिए, नेतृत्व फेरिए । शासक फेरिए तर बागमतीको राजनीति फेरिएन । शासनसत्ता नै फेर्न सफल भएका दलेकाकाहरुको अनुहारमा बागमतीले केही नै फेर्न दिएनन् । कति हरामी बागमती ! आफूसँगै वर्षौं बिताएका दलेकाकाहरुलाई पानी र हिलोको दलदलमा फसाउने प्रयत्न पटक–पटक गरिरह्यो ।
जब बागमती उग्र रुप लिन थाल्छ तव सत्तामा बस्ने शासकहरुले आफ्नो सामन्ती रुप देखाइदिन्छ । एकले अर्कोलाई आरोप लगाउने ! कोही क्या वात् भन्दै, धाप मार्दै सामन्त बन्न उक्साइरहने ! अहिले बागमती निकै रिसाएको छ क्यार दलेकाकाहरुलाई चुर्लुम्म डुबाएको छ । निमुखाको मुखमा घोचो भनेजस्तै भएको छ । गरिबको बोल्दिने को छ र ? सुन्तली काकीहरुको आँसुमा देश द्रोह !
सत्ताका लागि लड्नेहरु दलेकाका नाममा फेरि लडेजस्तो मात्र गरिरहेका छन् । सामाजिक रुपान्तरण र त्यही सत्ता परिवर्तनका लागि लडेका दलेकाका ओछ्यान परिरहेका छन् । बागमतीले राम्रैसँग ढाड चिस्याइदिएको छ । तर दुई–चार दिन कठैबरा ! भन्दै आफ्नो अभिष्ट पूरा गर्नेबाहेक साँच्चिकै दलेकाका जस्तै गरिबको बोलिदिने को छ र ?बागमती तँ त बुझ्छस् नि ? तैँमाथि राजनीति गर्नेहरुलाई तँ चिन्छस् नि ? त्यसो भए ती उठ्नै नसक्नेगरी जिउँदो लासजस्तै लम्पसार परिरहेका दलेकाकालाई किन डुबाउँछस् ? किन तिनका छाप्रा बगाउने चेष्टा गर्छस् !
बागमती, तँ मा माया छ, सद्भाव छ भने धर्मको पनि ख्याल गर । दलदल फसेका दलेकाकाहरुको बस्तीमा हैन, दलदलमा फसाउनेहरुलाई बगा । यदि सक्दैनस् भने तँ र दलेकाकाहरुलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न बागमतीमा राजनीति गर्नेमा के फरक भयो र ? हैन र ?