काठमाडाैं - नेपाल वायुसेवा निगमले २०८१ आषाढ मसान्तमा न्यारोबडि र वाइडबडि जहाजको ऋण भुक्तानी गरेकाे छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पुरा र वाइडबडि जहाजकोे आंशिक गरी मिति २०८१ आषाढ ३१ गते जम्मा अक्षरेपी रु त्रिचालिस करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ (रु ४३,०९,५५,२८१ ) रकम भुक्तानी गरेको हाे ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले २०८१ आषाढ सम्मको अवधिमा पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।
यसका साथै विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।