काठमाडौं– इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपालबाट दुई हजार सहायक कामदार (केयर गिभर) लैजाने भएको छ । आकर्षक रोजगारीको गन्तव्य मानिएको इजरायलले यसअघि ८०० जना लैजाने भनी आवेदन माग गरे पनि त्यो संख्या बढाएर दुई हजार जना लैजाने सहमति गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रममन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदरबीच सोमबार भएको भेटमा उक्त सहमति भएको उल्लेख गरेको छ । इजरायलले हाल ५०० जना मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक गरी ८०० जना नेपालीलाई केयर गिभरमा लैजान आवेदन माग गरे पनि यो संख्यालाई बढाएर दुई हजार पु¥याइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । दुई हजार माग गरिएकोमा एक हजार मुख्य र एक हजार वैकल्पिक उम्मेदवार हुने बताइएको छ ।
केयर गिभरको संख्या बढाएर लैजाने सहमति भए पनि अहिले आह्वान गरिएको आवेदन प्रक्रियाबाटै अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । हाल ८०० जनाका लागि झण्डै सात हजारले आवेदन दिइसकेको बताइएको छ । साउन ११ गतेसम्म आवेदन दिने समयावधि रहेको मन्त्रालयले उल्लेख गरेको छ । साथै आवेदन दिएकाहरुबाटै दुई हजार उम्मेदवारको छनोट गरी लैजाने सहमति भएको बताइएको छ ।
इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको हेरचाह तथा स्याहार गर्न नेपालबाट केयर गिभरको माग गर्दै आएको जनाएको छ । यसअघि नेपालबाट केयर गिभरमा काम गर्न झण्डै १२ सय नेपाली इजरायल गइसकेको मन्त्रालयले जनाएको छ । केयर गिभरमा छनोट हुनेले मासिक पाँच हजार ८८० सेकेल इजरायली मुद्रा अर्थात् दुई लाख १० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने छन् । करार अवधि सुरुमा एक वर्षको हुने छ भने बढीमा पाँच वर्षसम्म थप गर्न पाइने छ ।
मन्त्री भण्डारी र राजदूत गोदरबीच केयर गिभरको संख्या थप्नेमात्र नभई आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमासमेत नेपाली कामदार इजरायल लैजाने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ । भेटका अवसरमा मन्त्री भण्डारीले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराइरहेका विपिन जोशीका विषयमासमेत चासो राखेको बताइएको छ । उनले जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा पहल गरिदिन आग्रह गरेका थिए ।