सिंहजस्तै गर्जने सिंहबहादुर मलिन अनुहार लिएर लखरलखर हिँडिरहेका छन् । केही सोचेजस्तो । केही मनमा खुल्दुली भएजस्तै । कतै भाग्न लागेजस्तो । अनि लुक्न खोजे जस्तो । कसैले चिन्ला कि भन्ने डरले कोल्टे–कोल्टे पर्दै हिँडिरहेका छन् ।
चिन्नेले त चिनिहाल्छ नि । छाँयाबाटसमेत मान्छे चिन्न सकिने बेलामा गर्जिरहने सिंहबहादुरलाई जसै गरे पनि जसले पनि चिन्दछ । केही समय अघिसम्म निकै ठाँटले हिँड्ने सिंहबहादुरको बहादुर हराए जस्तो । साउनको मुसलधारे पानीमा भिजेर लखरलखर हिँडेको कालो बिरालो जस्तै देखिन्छन् । सधैं एकै नासको कहाँ हुन्छ र ? दिनपछि रात त स्वभाविकै हो नि । पत्याउनेले पनि एक समय पत्याउँछन् ।
सिंहबहादुरले जस्तै कुरा गरे पनि गाउँलेले विश्वास गर्थे । सिंहबहादुरबाट कुनै पाप हुँदैन, अन्याय हुँदैन भन्ने अन्धविश्वासमा थिए गाउँलेहरु ! पण्डित गाउँतिर त सिंहबहादुर जाँदै छ भन्ने बित्तिकै सारा गाउँलेहरु घडा थाप्न पनि तयार हुने गरेको ७६ काँटेकी रमिला माईल्याले असन बजार जाँदा नढाँटिकनै भन्थिन् ।
समय परिस्थितिले नै सिंहबहादुरलाई बादशाह बनाएको थियो । उसको वरपर भाइदार, हुक्के, चुले, चौके सबै थिए । सिंहबहादुरले इशाराबाटै काम गराउँथे । पञ्चायतका कार्यकर्ताहरु सबैसिंहबहादुरको छायाँमा बसेर मस्त मारिरहेका हुन्थे ।
आफूलाई बादशाह मान्ने सिंहबहादुर आफ्नै काँधमा बसेर आफूलाई सिध्याउँदै गरेको पत्तै पाउँदैनथ्यो । हस हजुर । हुन्छ हजुर । ठीक छ हजुर । त्यो त गर्नैपर्छ हजुर । हजुरले भनेपछि नभए सुखै छैन हजुर भन्दै सिंहबहादुरलाई जुरुक्क पार्दथे हुक्के, कोठेहरु ।
तिनै हुक्केचुलेको भरमा सिंहबहादुर पञ्चायतका कार्यकर्तालाई ठाम्दै गइरहेको थियो । न त पञ्चायत नै बस्थ्यो । न त पञ्च भलाद्मीका कुरा नै सुन्थ्यो । उ त शेर थियो । त्यसैले त उसका बाले सिंहजस्तै गर्जन सकोस् भनेर सिंहबहादुर नाम राखिदिएका थिए ।
उसको गर्जनबाट वरपरका गाउँका मुखियाहरुको सातो जान्थ्यो । सिंहबहादुर गाउँलेको दैलोमा कहिल्यै पुगेन । तर उसका चौकीदार, हुक्के, कोठेहरुले नै गाउँहरुलाई तह लगाइरहेका थिए । सिंहबहादुरले भन्थ्यो कि भन्दैनथ्यो पत्तो हुँदैनथ्यो । गाउँलाई उसकै नाम लिएर हुक्केहरुले हुँकार गर्थे ।
सिंहबहादुरको जोश जाँगर र उत्साहले साराका सारा गाउँलेहरुलाई पुलकित गराएको थियो । आशा र भरोसा पनि थियो । गाउँमा हिजो न्याय दिलाउने भन्ने पञ्चभलाद्मीहरुलाई सिंहबहादुर एक्लो नै काफी हुन्थ्यो । उसका अगाडि ती भलाद्मीहरु त लुते अगाडि नै पर्न सक्दैनथे । दोहोरो वाक्य नै फुट्दैनथ्यो ।
बाहिर सिंहबहादुरको कयौं कमजोरीहरु वकवक गर्थे । जब चौतारीमा पञ्चायतका कार्यकताहरुका सामु सिंहबहादुर पुग्थे सबै डरले लुगलुग काँप्थे । सिंहबहादुर आफैंले त्रासको वातावरण बनाएका थिएनन् । उनीहरु आपैmं त्रसित थिए । डरले थुरथुर काँप्थे । उनीहरुको डर र त्रासले सिंहबहादुर त्यसै दंग पर्दथे अनि कहिलेकाहीँ यस्सो गर्जेजस्तो गर्थे । उसको गर्जनबाट भूकम्प नै आउँथ्यो ।
सिंहबहादुरका तीन भाइ– जेठो सिंहबहादुर, माइलो कौशलबहादुर अनि कान्छो तोपबहादुर । कान्छो तोपबहादुरलाई बुबाआमाले निकै नै पुल्पुलाएर हुर्काएका कसैलाई टेर्दैनथ्यो । ऊ हप्काउने, थर्काउने अनि चट्काउने काम गरेरै जीवन गुजारा गर्दथ्यो ।माइलो कौशलबहादुर भने कला कौशलमा निकै नै निःपूर्ण । साराका सारा गाउँलहरुलाई आफ्नो कलाबाटै मन्त्रमुग्ध पार्न सक्थ्यो । आफ्नो कला बेचेरै उसले आफूलाई निर्भीक पनि बनाएको थियो । जेठा सिंहबहादुर त कुरै छाडौं, केटाकेटीदेखि अटेरी जिद्दी । त्यसैले आमाले नाम राखिदिएकी थिइन्–लिडे ।
आमाले जति भावना कसले बुझेको हुन्छ र ? बाँसको सिन्को जस्तो पातले सिन्के । जिद्दी, अटेरी सिन्के पछि सिंहबहादुर भाको । बाबुलाई न टेर्दैनटेरेपछि वाक्क दिक्क भएर गुरुकुलमा भर्ना गर्दिएका थिए । बाबुले त सिंहबहादुर बन्ला भन्ने सोचेको पनि थिएनन् । उनी त्यही सिन्के मै जिन्दगी कटाउँछ भन्ठान्थे । छैठीमा लेखेको भाग्यलाई कसले पो मेट्न सक्छ र ? भाग्यमा जे लेखेको छ त्यही पाउने हो । देखेको उही आँखाको लागि मात्र प्यारो । सिंहबहादुरको चिनामा नै बलियो आमाले जैंसी देखाउँदा थापाको रे ।
आमाले कहिल्यै पनि जैसीले चिनामा लेखेको कुरा अरुलाई भन्नु भएन । दिन आएपछि जे हुन्छ हुन्छ । भाग्यमा विश्वास गर्ने हो आमाले मनमनै भन्नु हुन्थ्यो रे । थरिबाले कुलको मन्दिरै मासे । मन्दिर भएको जमीन मात्र बेचेनन् आफूले जन्मिएको माटो पनि बेचिदिए । र त उनलाई भाग्यले कहिल्यै साथ दिएनन् । शुरुमा जति नै भएपनि अन्त्यमा कठैवरा बन्नु प¥यो । सायद अहिले सिंहबहादुरको हालत पनि उस्तै भएको हुनु पर्छ ।
सिंहबहादुरलाई अप्ठेरो परेपछि ती कोठे, ढोके कसैले पनि साथ दिएनन् । गणेश प्रबृत्तिका तिनीहरुले भजन मात्र गाए । भजन गाएर खानुसम्म खाए । पञ्चायतका कार्यकर्तादेखि मुखियाँ सावलाई पनि निकै थर्काए । सिंहबहादुरको नाम भजाए । सिंहबहादुरको छाया देखाएर ! आफैलाई सिंहबहादुर हुँ भन्न पनि भ्याए । उनीहरुले त्यत्तिमात्र भ्याएनन् । सिंहबहादुरलाई नै सिध्याए ।
त्यो शान, त्यो मान अनि त्यो अभिमानमा कुठाराघात भयो । सिंहबहादुरले आफूले के गर्दै छु । कसका लागि गर्दै छु वा कसका कारण किन गर्दै छु भन्ने कुरा कहिल्यै बुझ्न खोजेन । बुझाउनेको कुरै सुनेन । ऊ त केवल आफूलाई नववादशाहमा रुपान्तरण गर्दै लग्यो । बादशाह बन्यो । सबैले बादशाह बनाइदिए ।
हुँडारहरु उसकै पछिपछि लागिरहे । तिनै हुँडारहरुले विचरा सिंहबहादुर नववादशाहलाई बबुरो बादशाह बनाइदिए । शक्तिहीन बनाइदिए । वरपर रहेका तिनै हुँडार हुक्के, ढोकेहरुले मस्तले तर मारिरहे । सिंहबहादुरले पत्तै पाएन । विचरा सिंहको नंग्रा त पालैपालो तिनैका हुँडारहरुले सकाइदिइसकेका रहेछन् । त्यो गज्जबको नववादशाहलाई बबुरो बादशाह बनाइदिएका रहेछन् । विचरा सिंहबहादुरको यो गर्जन र तुहाइदिएछन् । आज लखरलखर, एक्लो हिँड्ने बनाइदिएछन् ।
त्यसैले आमाले जैसीले चिना हेरेर भनेको कुरा खोल्नै भएन । मात्र भाग्यमा जे लेखिएको छ त्यही हुन्छ मात्र भनिरहिन् । पत्तै नपाई सिंहबहादुर आफैंले साइँदुवा पालेर आफूलाई पुर्ने खाल्डो खनिरहेको रहेछ । लखरलखर हिँडिरहेका सिंहबहादुर बबुरो बादशाह बनिरहेको छ ।