काठमाडौं - नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले म्यानपावर व्यवसायीको समस्या समाधानमा सहजीकरण गरिदिन ध्यानाकर्षण गराउँदै गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको नवीकरण र मागपत्र प्रमाणीकरणमा देखिएको समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गर्दै मन्त्रीद्वय लेखक र राणालाई सोमबार ज्ञापनपत्र बुझाइएको एसोसिएसनले जनाएको छ ।
तोकिएको संख्या नपुगेका म्यानपावर कम्पनीहरुको फेइम्स प्रणालीमा ‘डिएक्टिभ स्टाटस’ भएका कारण असार मसान्तदेखि नै कामदारले पाउनुपर्ने श्रम स्वीकृति नपाएको एसोसिएसनले उल्लेख गरेको छ । सोही कारण व्यवसायीको काम ठप्प रहेको जनाएको छ । भिसा प्राप्त भएर बसेका कामदारलाई श्रम स्वीकृति दिएर रोजगारीका लागि पठाइदिने वातावरण मिलाइदिन एसोसिएसनले मन्त्रीद्वयसमक्ष आग्रह गरेको छ ।
गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री राणासँग भेटेर १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका २५७ वटा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरु नवीकरण प्रक्रियामा जान नपाउँदा समस्या भएको जानकारी दिँदै यसको समाधनका लागि सहजीकरण गरिदिन आग्रह गरिएको लोकतान्त्रिक एसोसिएसनका महासचिव महेश बस्नेतले बताए । ‘हामीले गृहमन्त्रीज्यूलाई १०० संख्याले निम्त्याएको समस्याबारे अवगत गरायौं,’ बस्नेतले भने, ‘परराष्ट्रमन्त्री भएका कारण आरजु राणालाई संख्या र मागपत्र प्रमाणीकरणमा दूतावासबाट सिर्जना भएका समस्या समाधानका लागि पनि ध्यानाकर्षण गराएका छौं ।’
मन्त्रीद्वयसँगको भेटघाट र छलफलबाट वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नेतर्फ आवश्यक समन्वय र सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त भएकाले ‘व्यावसायिक रक्तसञ्चार’ प्राप्त भएको महासचिव बस्नेतले बताए । एसोसिएसनले १०० संख्या समाधान समिति गठन गरी सोही समितिमार्फत सरोकार राख्ने विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका विभाग र निकायसँग समन्वय गरी समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने कार्य सुरु गरेको छ ।
समितिका संयोजक एसोसिएनका प्रथम उपाध्यक्ष विनोदजंग केसी र सदस्यसचिवमा एसोसियनका महासचिव महेश बस्नेत रहेका छन् । उक्त समितिले आइतबार वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई भेटेर वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेको थियो ।