काठमाडौं– वैदेशिक रोजगारीका लागि एक वर्षमा सीपयुक्त दक्ष श्रमिकको रुपमा पाँच लाखभन्दा बढी नेपाली युवा विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर पाँच लाख ३२ हजार १२३ जना दक्ष श्रमिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका हुन् ।
यो रोजगारीका लागि उक्त आवमा विदेसिएका कूल श्रमिकको ७१.७८ प्रतिशत हो । एक वर्षको अवधिमा सीप सिकेर विदेश जानेमध्ये ५० हजार २५३ जना महिला रहेको विभागले उल्लेख गरेको छ । विदेश जाँदा सीप सिकेर जाने क्रम बढ्दै गएको विभागले जनाएको छ । गत आवमा विदेसिएकामध्ये ६० हजार १२३ जना अर्धदक्ष रहेको प्रतिवेदनमा उल्लेख छ । जसमा छ हजार ६६६ जना महिला रहेका छन् ।
सोही वर्ष पेसागत दक्षता हासिल गरेका दुई हजार ७७२ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ । यसै अवधिमा विशिष्ट दक्षता (विशेषज्ञता) हासिल गरेका ७३२ जना पनि विदेसिएका छन् । वैदेशिक रोजगारीमा जाने सीपयुक्त दक्ष श्रमिकको संख्या बढ्दै गए पनि अझै ठूलो संख्यामा अदक्ष श्रमिकहरु रोजगारीका लागि विदेसिँदै आएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । गत आवमा एक लाख ४५ हजार ५७ जना अदक्ष (कोरा) श्रमिक विदेसिएका छन् । जसमा २२ हजार ६९३ जना महिला श्रमिक रहेका छन् ।
समग्र श्रम स्वीकृतिको अवस्थालाई हेर्दा एक वर्षमा सात लाख ४१ हजार २९७ जना श्रमिक रोजगारीका लागि १४९ मुलुकमा गएका छन् । जसमध्ये ८० हजार १७२ जना महिला श्रमिक रहेका छन् ।अघिल्लो आव २०७९/८० मा कूल सात लाख ७१ हजार ३२७ जना रोजगारीका लागि विदेसिएका थिए । जसमा सीपयुक्त दक्ष श्रमिक पाँच लाख छ हजार ५४६ जना थिए । त्यस्तै विशिष्ट दक्षता हासिल गरेका श्रमिकका रुपमा २५७ जना र पेसागत दक्षता भएका श्रमिक एक हजार १५३ जना श्रम स्वीकृति लिएर विदेश गएका थिए । यस्तै ६० हजार ५५५ जना अर्धदक्ष र दुई लाख दुई हजार २१६ जना अदक्षका श्रमिकका रुपमा विदेश गएको विभागको तथ्यांकमा उल्लेख छ ।
सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेयता सीप सिकेर विदेश जाने श्रमिकको संख्या बढ्दै गएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । उनका अनुसार पछिल्ला आर्थिक वर्षहरुमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै गइरहेको छ । ‘विदेश जाँदा केही सीप सिकेरै जाउँ भन्ने चेतना युवाहरुमा फैलिएको छ,’ महानिर्देशक घिमिरेले भने, ‘सीप सिकेर गए दुःख पाइँदैन भन्ने चेतनाका कारण दक्ष श्रमिकको संख्या बढेको हो ।’ यद्यपि सीप विकास तालिम अनिवार्य हुँदाहुँदै पनि यसको कार्यान्वयनमा कठिनाइ भएका कारण अझै पनि ठूलो संख्यामा अदक्ष श्रमिक रोजगारीका लागि विदेश जाने क्रम जारी नै रहेको उनले बताए ।