काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार महाशाखालाई परिवर्तन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारसम्बन्धी विभिन्न नीति निर्माण तथा अध्ययन गर्ने महाशाखालाई आन्तरिक रोजगार महाशाखा बनाउने तयारी भइरहेको बताइएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपश्चात् श्रममन्त्री शरतसिंह भण्डारीले पहिलोपटक सार्वजनिकरुपमा मंगलबार संसद् भवन परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै वैदेशिक रोजगार महाशाखालाई ‘रि–स्ट्रक्चर’ गर्नुपर्ने अवस्था आएको बताए । वैदेशिक रोजगारको क्षेत्रमा अन्य निकायले काम गरिरहेको भन्दै उनले आन्तरिक रोजगार महाशाखा बनाएपछि यसले मुलुकभित्रै रोजगारी सिर्जना गराउनको लागि महŒवपूर्ण गतिविधि सञ्चालन गर्ने बताए ।
मन्त्री भण्डारीले आफूले अघिल्लो कार्यकालमा घोषणा गरेको आन्तरिक रोजगार दशकको अभियानलाई पनि अघि बढाउने तयारी भइरहेको बताए । ‘अब स्वदेशमा नै उद्यमशीलता र रोजगारी सिर्जना गराउने अभियान सञ्चालन गरिने छ,’ उनले भने, ‘यसका लागि वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई रोक्ने उनीहरुको सीप, पुँजी र अनुभवलाई स्वदेशमै लगानी गर्ने वातावरणको निर्माण गरिने छ ।’
बाध्यकारी वैदेशिक रोजगारीलाई क्रमश न्यूनीकरण गर्दै लैजाने सरकारको उद्देश्यलाई कार्यान्वयन गर्न प्रत्येक पालिकाअन्तर्गत रहेको रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’को रूपमा विकास गर्न लागिएको मन्त्री भण्डारीले बताए ।