काठमाडौं– एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका – १ स्थित देविस्थान माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको जनाइएको छ । उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई हस्तान्तरण गरेका थिए । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइरालालगायत स्थानीय र व्यवस्थापन समितिका अन्य सदस्यहरूको उपस्थिति थियो ।