काठमाडौं उपत्यकाका कुनै पनि खोला बाँकी छैन, जसको जग्गा नमिचिएको होस् । अहिले त्यसैको परिणाम भोगिहेका छन् यहाँका बासिन्दा । हरेक बर्खाको समयमा भोग्दै आएको डुबानको समस्या यो वर्ष अझ बढी नै देखिएको छ । लगातार परिरहेको भारी वर्षाले उपत्यकाका धेरै स्थान डुबानमा पारिदिएको छ । मंगलबार रातिको भारी वर्षापछि आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परे । एक जनाको त खोलाले बगाएर ज्यान नै गयो ।
काठमाडौं, भक्तपुर र ललितपुरमा आएको बाढी र डुबानमा परेका ७० जनाको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक छ । प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट ७०० भन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरेको छ । मंगलबार रातिको भारी वर्षापछि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा मंगलबार रातिदेखि नै बाढीबाट प्रभावित भएका थिए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्नमै उनीहरू व्यस्त रहे । भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाए भने कयौंका बगे । रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिंदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएनन् त्यहाँ लाखौंको क्षति भयो । सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेको बताइएको छ ।
प्राकृतिक रुपमा बग्ने खोलाको बाटो अतिक्रमणमा परेका कारण भारी वर्षासँगै आउने बाढी बस्तीमा पस्ने गरेको छ । खासमा खोला बस्तीमा पसेको हुँदै होइन, खोलाको जग्गामा बस्ती बसालिएका कारण डुबानमा परेको हो । तर, कतिपय ठाउँमा भने खोलाकै बदमासी भएको तथ्य नकार्न सकिन्न । एकातिर खोला अतिक्रमण हुनु, अर्कोतर्फ काठमाडौं उपत्यका कंक्रिटमा परिणत हुँदै जानुले पनि यहाँ डुबानको समस्या बढेको हो ।
अव्यवस्थित बस्ती बढ्दा ढलको व्यवस्थापन भने कमजोर गरिएको छ । जसले भारी वर्षापछि आउने बाढी धान्न सकिरहेको छैन । पानी जमिनमा सोस्न पाउँछ, न व्यवस्थित निकास नै गरिएको छ । जसले डुबानको समस्या बढाइरहेको छ । डुबानबाट भइरहेको क्षति न्यूनीकरण र यसको दीर्घकालीन समाधानमा सरोकारवाला सबैको ध्यानाकर्षण होस् ।