काठमाडौं- त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हिजोबाट सुरु भएको पहिलो खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सानदार सुरूवात गरेको छ ।
उपाधि दाबेदार भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो खेलमा मल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै हिजो भएको दोस्रो खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको थियो । पहिलो र दोस्रो सेट भारतले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, तेस्रो सेटमा भने इरानले उत्कृष्ट पुनरागमन गर्यो । उक्त सेट १९–२५ ले ईरानले आफ्नो पक्षमा पारेको थियो । समग्रमा इरानलाई भारतले २५-२०, २५-१८, १९-२५ र २५-११ ले खेल आफ्नो पक्षमा पारेको हो ।
त्यस्तै घरेलु टोली नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सोझो सेटमा जितेको थियो । यो खेलमा मिडल बल्कर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले राष्ट्रिय टिमबाट डेब्यु गरे । सुरूवात राम्रो गरेको नेपालले पहिलो सेटमा ६-२ को अग्रता बनाइसकेको थियो ।
यसपछि निरन्तर अंक जोडेर नेपालले पहिलो सेटमा श्रीलंकालाई २५-१९ ले आफ्नो पक्षमा पार्यो । हाइट एडभान्टेज रहेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन । दोस्रो सेटमा पनि कुनै पनि समय श्रीलंकाले अग्रता बनाउन सकेन भने नेपालले २५-१८ ले दोस्रो सेट जित्दै नेपालले दुई शुन्यको अग्रता बनायो ।
दुई शुन्यले पछि परेको श्रीलंकाले तेस्रो सेटको सुरूवातमा नेपाललाई दबाब दियो । श्रीलंकाले ७-३ ले अग्रता बनायो । नेपाल खेलमा फर्कने कोशिशमा थियो र खेल १५-१५ को बराबरीमा पुग्यो । सरस्वती चौधरीको सर्भीसमा निरूता ठगुनाको स्पाइकमा नेपालले १६-१५ को अग्रता बनायो । नेपालले लगातार सात अंक जोडेर खेललाई १९-१५ मा समेत पुर्यायो । सानदार कमब्याक गर्दै नेपालले तेस्रो सेट २५-१९ ले हात पार्यो ।
प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ ।