काठमाडौं - भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरेकाे भन्दै प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जाल मिडिया र युट्युब च्यानललाई कारबाही गरेकेो छ । हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पिएनपि मिडिया र नागरिकपत्र युट्युब च्यानल कारबाहीमा परेका हुन् ।
मिडिया अन्तर्गत सूचीकृत भएका तीन सामाजिक सञ्जाल पेजलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।
प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ ओटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरेको जनाएको हो ।
काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Thumbnail) सहितको शीर्षक दिई भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने माध्यममाथि कारबाही अघि बढाएको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले बताए ।
यस्तै मिडियासम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ ओटा युट्युब च्यालनलाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको बोहराले जानकारी दिए ।