थाइल्याण्ड– नेपाल थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटबाट बाहिरिएको छ । पहिलो दुईवटा खेलमा पराजय भोगेको नेपालले बुधबार सम्पन्न खेलमा आयोजक थाइल्याण्डविरुद्ध कीर्तिमानी जित हासिल गरे पनि अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपालको प्रतियोगिताको शीर्ष २ स्थानमा रहनका लागि बुधबार नै सम्पन्न हङकङ र सिंगापुरबीचको खेलमा हङकङले जित हात पार्नु पर्ने थियो तर उक्त खेलमा सिंगापुर १६ रनले विजयी भएपछि नेपाल बाहिरिएको हो । अब नेपालले बाँकी रहेको सिंगापुरविरुद्धको खेलमा जित निकाले पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन ।
अंक तालिकामा सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान खेलमा मलेसिया र हङकङको समान ४÷४ अंक रहेको छ । नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । नेपालले सिंगापुरसँग खेल्न बाँकी रहेको छ ।
शीर्ष स्थानमा रहेको सिंगापुर एक खेल अगाबै एसिया कप छनोटमा पुग्न सफल भएको छ । एसिया कप छनोटमा पुग्ने अर्को राष्ट्रको टुंगो भने शुक्रबार लाग्ने छ ।
मलेसिया र हङकङबीचको विजेताले एसिया कप छनोटमा स्थान बनाउने छन् । नेपालले प्रतियोगिताको अन्तिम खेल बिहीबार एशियाकप छनोटका लागि छनोट भइसकेको सिंगापुरसँग खेल्नेछ ।
त्यसअघि नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको थियो । बैंककको टेर्डथाई क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्याे । नेपालको जीतमा शुरुआती ब्याट्सम्यान कुशल मल्लले अविजित रहँदै ३६ रनको योगदान दिए । त्यसैगरी पवन सर्राफले अविजित २७ रन बनाउँदा पारस खड्काले ९ रन जोड्दै आउट भए ।
बलिङतर्फ थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए । त्यसअघि टस पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिए भने अविनाश बोहराले २ विकेट तथा भुवन कार्की र सन्दीप लामिछानेले १÷१ विकेट लिएका थिए ।