काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको जापानमा अब बिल्डिङ मेन्टेनेन्स (भवन मर्मतसम्भार) क्षेत्रमा पनि नेपाली श्रमिकले रोजगारीको अवसर पाउने भएका छन् । नेपाल र जापान सरकारबीच भएको जिटुजी सम्झौताअनुसार स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यू) अन्तर्गत अन्य क्षेत्रमाझैं अब भवन मर्मतसम्भार क्षेत्रमा पनि नेपाली श्रमिक जान पाउने भएका हुन् ।
जापानको भवन मर्मतसम्भार संघ (जेबिएमए)का प्रतिनिधिले नेपालबाट श्रमिक लैजाने सम्बन्धमा आवश्यक तयारी गरिरहेको भन्दै गत शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई भेट गरी जानकारी दिएका छन् । बिल्डिङ मेन्टेनेन्समा जान चाहने नेपाली श्रमिकहरु सीप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको पहिलो हप्ता हुने परीक्षामा सहभागी हुन सक्ने छन् । नेपालमा जेबिएमएले सीप परीक्षा सञ्चालन गर्ने बताइएको छ । नेपालमा रहेको प्लेन्टी ट्रेनिङ प्रालिको समन्वयमा परीक्षा सञ्चालन हुने छ ।
परीक्षाको नतिजा एक महिनापछि आउने र परीक्षा उत्तीर्ण भएकाहरुले जापानको बिल्डिङ मेन्टेनेन्स क्षेत्रमा रोजगारीको अवसर पाउने प्लेन्टी ट्रेनिङ प्रालिका सिइओ ज्ञानेन्द्र भट्टले बताए । सीप परीक्षामा सहभागी हुन चाहनेको उमेर १७ वर्ष पूरा हुनुपर्ने छ । सीप परीक्षण उत्तीर्ण भई जापानी भाषाको जेएफटी (ए२) अथवा जेएलपीटी (एन४) लेभलको अध्ययन अनिवार्य भए पनि अन्य शैक्षिक योग्यता नचाहिने भट्टले जानकारी दिए ।
रोजगारीको क्षेत्रमा बिल्डिङ मेन्टेनेन्सको अर्थ अलि फरक रहेको सिइओ भट्टले बताए । ‘ठूला कार्यालय, किनमेल केन्द्र र होटल, अपार्टमेन्टलगायतका भवनभित्रको फोहोर हटाउने, ढोका, बाटो, शौचालय, भूइँ, पर्खालको सरसफाइ र होटलहरुमा बेड मिलाउने तथा बनाउनेसम्बन्धी काम गर्नुपर्ने छ,’ उनले भने ।जेबिएमएसँग जापानका छ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको माग रहेको पनि भट्टले बताए ।
तर प्लेन्टीले रोजागरीका लागि परामर्श दिने, आवश्यक तालिम सञ्चालन गर्ने, सीप परीक्षाका लागि समन्वय गर्ने गरेपनि आफैले श्रमिक पठाउने कार्य नगर्ने प्रस्ट पारेको छ । तर श्रमिकको आवश्यक भएका कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानस्थित प्लेन्टी कम्पनीले गर्ने छ । यसका लागि सीप परीक्षा उत्तीर्ण गरेका श्रमिक आफैंले व्यक्तिगत श्रम स्वीकृति लिएर प्रक्रिया बढाउनुपर्ने बताइएको छ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब ३०० कामदार लैजाने जेबिएमएको तयारी रहेको प्लेन्टीले जनाएको छ ।
सीप परीक्षणमा ‘पेपर टेस्ट’ र भवन सरसफाइसम्बन्धी कामको परीक्षा लिइने बताइएको छ । पेपर टेस्टमा तस्बिर र चित्रण प्रयोगसम्बन्धी जाँच हुने बताइएको छ । कार्य परीक्षणमा भूइँ सफाइ, सिसाको सफाइ र पश्चिमी शैलीका शौचालयको सफाइ हुने छ । यी दुवै परीक्षामा ६० प्रतिशतभन्दा माथि ल्याउने व्यक्ति उत्तीर्ण हुने मापदण्ड रहेको भट्टले बताए । यसका लागि अक्टोबरदेखि तालिम सुरु हुने उनले जानकारी दिए ।
अहिलेसम्म तालिम सञ्चालन र सीप परीक्षाका लागि प्लेन्टी ट्रेनिङ प्रालि नै आधिकारिक भएकाले भ्रममा नपर्न पनि भट्टले आग्रह गरेका छन् । उनका अनुसार बिल्डिङ मेन्टेनेन्सका क्षेत्रमा एसएसडब्ल्युअन्तर्गत म्यानपावर कम्पनीले पनि श्रमिकहरु पठाउनसक्ने भए पनि उनीहरुसँग कुनै सहकार्य गरिएको छैन । जापानले एसएसडब्ल्युअन्तर्गत समेटेको १६ वटा क्षेत्रमध्ये बिल्डिङ मेन्टेनेन्स पनि परेकोले सीपयुक्त श्रमिकका लागि सुनौलो अवसर भएको भट्टले बताए ।
पछिल्लो समय एसएसडब्ल्युअन्तर्गत सीप सिकेर जापान जाने नेपालीको संख्या निकै बढेको विभागका महानिर्देशक घिमिरे बताउँछन् । यसै सन्दर्भमा आवश्यक सहजीकरण र समन्वयका लागि आग्रह गर्दै जेबिएमए र प्लेन्टी नेपालका प्रतिनिधिहरुले आफूसँग भेट गरेको उनले बताए । नेपालबाट भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा नेपाली श्रमिकको माग हुनुले जापानमा रोजगारीको लाभ लिन सक्ने देखिएको महानिर्देशक घिमिरेले बताए । विभागको तथ्यांकअनुसार पनि रोजगारीका लागि जापान जाने संख्या बर्सेनि बढ्दै गइरहेको छ । गत आर्थिक वर्षमा मात्रै १३ हजार ८६४ जनाले जापान जान श्रम स्वीकृति लिएका छन् ।