काठमाडौं– राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा घरेलु टोली नेपाल इरानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको खेलमा नेपाल इरानसँग ३–२ सेटले पराजित भएको हो । यो हारसँगै जारी प्रतियोगितामा नेपालको अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ ।
खराब सुरुआत गरेको नेपालले पहिलो सेट १६–२५ ले गुमाएको थियो । तर, दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्यो । नेपालले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा फेरि इरानलाई सुम्पियो । उक्त सेट नेपालले २३–२५ ले गुमाएको थियो । चौथो सेट २५–१५ जित्दै नेपालले इरानमाथि दबाब बढायो ।
निकै प्रतिस्पर्धात्मक बनेको पाँचौं सेट १३–१५ ले इरानको पक्षमा गयो । र, नेपाल प्रतियोगितामा पहिलो हार बेहोर्न बाध्य भयो । साथै, शीर्ष स्थानमा रहने मौका पनि गुमाएको छ । यद्यपि, सेमिफाइनलको यात्रा भने सुनिश्चित भइसकेको छ ।नेपालले तीन खेलबाट छ अंक जोडेको छ । यसअघि नेपालले श्रीलंकालाई ३–० र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्सको सामना गर्ने छ ।
लगातार तेस्रो जित निकालेको इरानले चार खेलबाट सात अंक जोडेको छ । पहिलो सेटमा भारतसँग ३–१ को सेटमा पराजित भएको इरानले त्यसपछि श्रीलंकालाई ३–२ र माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।