श्रीलंकामा जनताले गोटावाया राजापाक्षेको शासन अन्त्य गरेको झण्डै दुई वर्षपछि बंगलादेशमा शेख हसिना शासनलाई अन्त्य गरिदिएको छ । दुवैको निवास प्रदर्शनकारीले कब्जा गरे । राजापाक्षे सत्ताच्युत हुनुमा त्यहाँ गहिरिएको आर्थिक संकटले सिर्जना गरेको जनआक्रोश र त्यसविरुद्धमा गोलबद्ध जनताको तागत थियो । हसिना सत्ताच्युत हुनुमाचाहिँ आर्थिक संकट नभई विद्यार्थीले सरकारी सेवामा आरक्षण प्रणालीलाई सुधार गर्नुपर्ने भन्दै गरेको माग सम्बोधन नगरी दमन गर्नु रह्यो ।
विद्यार्थी आन्दोलनकै बीचमा त्यहाँको सर्वोच्च अदालतले त अझ आरक्षण प्रणालीलाई नै खारेज गर्नू भन्दै आदेश दिएको थियो । तर, हसिना सरकार न अदालतको आदेश पालना गर्न तयार भयो न विद्यार्थीको सामान्य मागलाई सुन्न तयार भयो । बरु, उल्टै विद्यार्थी आवाज दबाउन बन्दुकको सहारा लिइन् । जुन लोकतान्त्रिक पद्धतिमा सुहाउँदो पटक्कै होइन ।
अतः हसिनाले सहारा लिएको बन्दुकबाट ३०० प्रदर्शनकारी ढले । सयौं घाइते भए । तर, सोमबार भने प्रधानमन्त्रीबाट हसिनाको दुईतिहाइ बहुमतसहितको सत्ता ढल्यो । जसबाट बन्दुकको गोलीभन्दा कयौं गुणा शक्तिशाली जनतामा भएको फेरि सन्देश प्रवाह भयो । प्रदर्शनकारी जनताले एक जना तानाशाही शासकको युग अन्त्य भएको घोषणा गरेका छन् । भ्रष्ट शासकलाई देशबाट लखेटिएको भनिरहेका छन् ।
हसिना १५ वर्षदेखि लगातार सत्तामा थिइन् । आलोचकहरूका अनुसार उनी पछिल्ला वर्षहरूमा जनताका आवाज नसुन्ने बन्दै थिइन् । जनतालाई प्रधानमन्त्रीको कुर्सीमा रहेर दमन गर्न तयार भइन् । परिणामतः आफैं सत्ता गुमाउन बाध्य भइन् । सत्तामात्रै होइन, देश नै छाड्नुपर्ने अवस्थामा पुगिन् ।
यसरी दुई दक्षिण एसियाली देशमा २२ महिनाको अन्तरालमा राष्ट्रपति र प्रधानमन्त्री भागेर देश छाड्न बाध्य भए । कारण, जनताको माग सुनुवाइ भएन । जनआवाज दबाउन खोज्दा दुवै देशका शासकको यो हालत भएको हो । नेपालका शासकहरुले यी दुवै देशको घटनाक्रमलाई गम्भीरताका साथ लिन जरुरी छ । किनभने नेपाली जनता मुलुकको राजनीतिक नेतृत्व र दलहरुप्रति सन्तुष्ट छैनन् ।
मुलुकको राजनीतिबाट जनता आजित भइसकेका छन् । कारण सत्ताका लागि दलहरुबीच हुने फोहोरी खेल र नेतृत्वमा देखिएको स्वार्थ केन्द्रित राजनीतिबाट जनता वाक्क भइसकेका छन् । मुलुकलाई अस्थिरताको भूमरीमा फसाइरहने र पालैपालो सत्तामा गएर आफ्नो स्वार्थपूर्ति गर्ने फोहोरी खेल चलेको वर्षौं भइसक्यो । मुलुकको अर्थतन्त्र संकटमा फसेको छ । रोजगारीको अवसर नहुँदा दैनिक हजारौं युवा विदेसिन बाध्य छन् ।
जनतामा बढ्दो निराशा र आक्रोशको सम्बोधन गर्न अझै चासो नदिने हो भने राजापाक्षे र हसिनाकै हालत बेहोर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । मुलुक त्यो अवस्थामा नपुगोस्, यही कामना गरौं । तर, दल र तिनका नेतृत्वले आफूलाई नसच्याउने हो भने त्यो दुर्भाग्य टार्न कठिन हुने निश्चित छ ।