काठमाडौं- यस वर्षको ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रभाव दैनिकका सम्पादक विष्णु तामाङलाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो स्थापना दिवसको अवसरमा तामाङसहित छ जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
फोनिजले मंगलबार प्रेस विज्ञप्तिमार्फत ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान-२०८१’का लागि छनोट भएका दुई जना, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान-२०८१’ तर्फ एक जना र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८१’ का लागि तीन जनाको नाम सार्वजनिक गरेको छ । सम्पादक तामाङलाई छापातर्फको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको फोनिजले जनाएको छ ।
यस्तै रेडियोतर्फ कास्कीको गोर्खाली रेडियोकी स्टेसन म्यानेजर खिमा गुरुङ र अनलाइनतर्फ इलामका सटेन्द्र जबेगु पनि पुरस्कारका लागि छनोट भएका छन् । यसैगरी राष्ट्रिय पत्रकारिता सम्मान विजयरत्न तुलाधार र नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिने भएको छ । फोनिज मातृभाषा पत्रकारिता सम्मान दाङबाट प्रकाशन हुने थारु भाषाको साप्ताहिक पत्रिका ‘लौव अग्रासन’लाई प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
फोनिज राष्ट्रिय पत्रकारिता सम्मानको राशि २५ हजार र फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २० हजार रुपैयाँको रहेको छ । फोनिजले हरेक वर्ष साउन २७ गते स्थापना दिवसका दिन पुरस्कार वितरण गर्दै आएको छ । यस वर्ष स्थापनाको २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवसलाई रजत वर्षको रुपमा मनाइने फोनिजले जानकारी दिएको छ ।