काठमाडौं– सरकारले नेपालमा राजदूतावास स्थापना गर्न ओमान सरकारलाई आग्रह गरेको छ । ओमन भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले ओमन सरकारका मन्त्री तथा उच्च अधिकारीहरुसँगको भेटमा नेपालमा राजदूतावास खोल्न आग्रह गरेकी हुन् ।
मस्कटस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र सचिव लम्साल र ओमान सरकारका सम्पदा तथा पर्यटन मन्त्री सलिम बिन मोहम्मद बिन सैद अल महरोक्कीबीच पर्यटन, श्रम रोजगार, संस्कृति, शिक्षा, व्यापार, लगानी, प्रत्यक्ष हवाई सम्पर्कलगायतका क्षेत्रमा पारस्परिक सहयोगका विषयमा पनि छलफल भएको उल्लेख गरेको छ ।
उनले २१ हजारभन्दा बढी नेपालीलाई रोजगारी उपलब्ध गराएकोमा ओमान सरकारलाई धन्यवाद दिँदै दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धका बारे व्याख्या गरेको बताइएको छ । यसैक्रममा आपसी हित र श्रमिकहरुको सहजीकरणका लागि नेपालमा दूतावास स्थापना गर्न उनले आग्रह गरेकी हुन् । ओमान भिजन २०४० को रणनीति र परियोजनालाई कसरी अवलोकन गरिरहेको भन्दै सचिव लम्सालले नेपालमा पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा लगानी गर्ने अवसर खोज्न पनि आग्रह गरेको दूतावासले जनाएको छ ।
यसअघि नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सचिव लम्सालले सम्बोधन गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताएकी थिइन् । बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत सबै क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् ।
त्यस्तै सचिव लम्सालले ओमानका श्रममन्त्री डा.महमद बिन सइद बिन अली वाओइनसँग पनि भेट गरेकी छन् । त्यस अवसरमा उनीहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको दूतावासंले जनाएको छ ।