काठमाडौं – कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् ।
अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी गरी उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा उनी विराटनगर पुगेको काठमाडौं प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।
कोरियाबाट फर्किएका ती नेपालीलाई बुधबार विमानस्थलबाट कोरोनाको आशंका गरी अस्पताल पठाइएको थियो। डा. अनुप बास्तोलाका अनुसार साधरण जाँचपछि उनलाई आइसोलेसनमा राखिएको थियो । उनको रिपोर्ट आउन अझै बाँकी नै रहेकाले कोरोना भए–नभएको पुष्टि नभएको अस्पताल स्रोतले जनाएको छ । चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि उनी गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट भागेको बताइएको छ ।
केही समयअघि टेकु अस्पतालबाटै एक साउदी अरबका नागरिक पनि भागेका थिए । आइसोलेसनमा भर्ना गरिएकाहरुको कोरोना परीक्षण बिहीबार गरिने अस्पतालले जनाएको थियो।