काठमाडाैं - मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेकाे छ ।
आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र देशभरका नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावली नाम दर्ता गर्न निर्वाचन आयोगले एक सूचना जारी गरी आह्वान गरेकाे हाे ।
वि.सं. २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको आयोगले जानकारी दिएकाे छ।
स्थानीय तह निर्वाचन ऐन, २०७४ बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ।
गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको जनाएकाे हाे ।
यस सन्दर्भमा निर्वाचनको लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन, द्दण्ठघ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। तसर्थ नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गरेकाे हाे ।
विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गरेकाे हाे ।