काठमाडाैं - आज नेप्से परिसूचक ३४.२९ अंक बढेर २९५७.७५ विन्दुमा पुगेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोडको कारोबार भएको हो ।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ।
आज ३३२ स्टकको २ लाख ४४ हजार पटकको कारोबारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बराबरको ५ करोड १२ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज दोस्रो बजारका लगानीकर्ताहरु फाइनान्स कम्पनीहरुतर्फ आकर्षित भएको देखिन्छ। यस दिन १३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। सो उपसमूहका १५ वटै कम्पनीहरुको शेयरमूल्य यस दिन बढेको छ।
त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।