काठमाडाैं - बिहीबार दिउँसो गठ्ठाघर चोकमा अकाशे पुलबाट केही पर भएको दुर्घटनाको कारक ट्राफिक प्रहरी भन्दै आरोप लागेपछि हिजो साँझबाट नै उपत्यकाभर ट्राफिक चेकिङ भएको छैन ।
सधैँ चेकिङ भइरहने ठाउँमा बिहीबार साँझ चेकिङ थिएन भने आज बिहानैबाट केही ठाउँका चेकिङ पनि हटेका छन् । सडकमा जथाभाबी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश बढेपछि ट्राफिक प्रहरीले घटना सामान्य नभएसम्म चेकिङ नगर्ने भएको हो ।
आज अरनिको राजमार्ग अन्तरगत भक्तपुरका केही ठाउँ र काठमाडौं उपत्यकाका रिङरोडमा बिहानैदेखि कतैपनि चेकिङमा ट्राफिक प्रहरी देखिँदैन । बाक्लो सवारी आवागमन हुने ठाउँमा मात्र सवारी व्यवस्थापनको लागि ट्राफिक खटिएका छन् ।
बाक्लो सवारी आवतजावत गर्ने ठाउँमा बिहीबार ट्राफिक प्रहरीले एक लेन ढाकेर बसेका थिए । अर्काे लेनमा गुडिरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्थानीयले ट्राफिक प्रहरीको दोष भन्दै कुटपिट गरेका थिए ।
ट्राफिक चेकिङमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको थियाे ।घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गट्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस हानेको थियो ।