- दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमताल सबैभन्दा बढी जोखिममा
- विश्व तापमान वृद्धिले हिमालमा हिउँ पग्लिने र भारी वर्षाले हिमताल भरिँदा फुट्ने जोखिम
- पहाडी क्षेत्रमा हिमताल विष्फोटनको असर
- चार वर्षअघि नै सार्वजनिक भएको थियो २१ वटा हिमताल जोखिमपूर्ण रहेको विवरण
काठमाडौं– साढे तीन महिनाको अन्तरालमा नेपालका तीनवटा हिमताल फुटेर बाढीजन्य विपद् निम्तिएको छ । बाढीबाट जनधनको क्षति भएको छ । चार वर्षअघि हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले नेपालका २१ वटा हिमताल फुट्ने जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेका थिए । गत ९ वैशाखमा गोरखाको चुननुब्रीस्थित वीरेन्द्र हिमताल र शुक्रबार सोलुखुम्बुको थामेस्थित माथिल्लो क्षेत्रमा रहेका दुईवटा हिमताल फुटेका र ती तीनवटै हिमताल जोखिमपूर्ण किटान गरिएका २१ मध्येकै रहेको विज्ञहरूले बताएका छन् ।
अझै दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमताल सबैभन्दा बढी सम्भावित खतरनाक रहेको हिमतालविज्ञ समज्वलरत्न बज्राचार्यले बताए । उनका अनुसार जलवायु परिवर्तनका कारण तीव्र वृद्धि भइरहेको विश्व तापमान र त्यही कारण अधिक हिउँ पग्लिने र भारी वर्षा हुँदा पानीको सतह बढ्दा हिमतालहरू फुट्ने गरेका छन् । फुट्नसक्ने सम्भावित हिमतालहरू बढी कोशी बेसिनका छन् । गण्डकी र कर्णाली बेसिनका कम छन् । वैज्ञानिक विधि अनपाएर उक्त अध्ययन गरिएको र जोखिमपूर्ण पहिचान गरेकोमध्येकै तीनवटा हिमताल पछिल्लो साढे तीन महिनामा फुटेको उनले बताए ।
उनले अन्य हिमतालहरू पनि फुट्ने जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘हामीले केही वर्षअघि हिमतालहरूको जोखिम अध्ययनका क्रममा भूउपग्रहले खिचेका कयौं तस्बिरहरूको विश्लेषण गरेका थियौं,’ उनले प्रभावसँग भने, ‘त्यस आधारमा कुन–कुन हिमताल जोखिममा छन् ? त्यसबारे प्रतिवेदनमा उल्लेख गरेका थियौं र सतर्कताका लागि अपिल गरेका थियौं ।’
जोखिमपूर्ण छ कि छैन भनेर विश्लेषण भने हिमतालहरूको प्राकृतिक बाँध, स्रोत हिमालको गतिविधि र वरिपरिको अवस्थालाई मानिएको हिमतालविज्ञ बज्राचार्यले बताए । हिमताल फुटेको अवस्थामा सबैभन्दा बढी प्रभावित पहाडी क्षेत्र हुन्छ । किनभने पहाडी क्षेत्रमा पानीको गति तीव्र हुने र त्यसले आसपासको भूभागलाई बगाएर लाने र त्यसक्रममा बाढीको रुप लिने गरेको बताए । बज्राचार्यका अनुसार हिमताल फुटेर बनेको बाढीको असर समर्थन भूभागमा पुगेपछि कम हुँदै जान्छ ।
‘हिमताल फुट्दा खासै असर समथर भूभागमा हुँदैन । हुने भनेकै पहाडमा हो । त्यसले गर्दा पहाडका नागरिकहरू जोगिनुपर्छ । सतर्क रहनुपर्छ किनभने हिमताल फुट्दा पर्ने असर पहाडमै हो,’ उनले भने ।चार वर्षअघि नै इसिमोडले नेपालका हिमनदी पग्लने क्रम बढिरहेको र नयाँ तालहरू बन्ने क्रम पनि बढिरहेकाले कयौं हिमताल फुट्ने जोखिम बढेको दाबी गरेको छ । त्यही भएर हिमतालहरूको निरन्तर सम्भावित जोखिमको अनुगमन गर्नुपर्ने र त्यसबारे नागरिकलाई सचेत पार्नुपर्ने इसिमोडको सुझाव छ । आवश्यक भएको स्थानमा पूर्वसूचना प्रणालीको विकास र जोखिम कम गर्ने उपायहरू अवलम्बन गर्नुपर्ने बज्राचार्यको भनाइ छ ।
थामेभन्दा माथिका दुईवटा हिमताल फुट्दा बाढी
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ स्थित थामे क्षेत्रमा शुक्रबार आएको भीषण बाढी दुईवटा हिमताल फुटेर आएको पाइएको छ । शनिबार बाढीको निरीक्षण गरेर फर्किएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हिमताल विष्फोटनले बाढी आएको पाइएको बताएका हुन् । उनले दुईवटा हिमताल फुटेर बाढी आएको र त्यसले थामे गाउँमा ठूलो क्षति पुर्याएको बताए ।‘माथिपट्टिको एउटा हिमताल फुट्दा त्यसले अर्कोे तालमासमेत दबाब सिर्जना गरेको पाइयो । त्यसरी हिमताल फुट्दा पहाडमा जमेर बसेको गेग्ररानको सतह खोतलिएर ठूलो बहाव सिर्जना गरेको देखिन्छ,’ निरीक्षणबाट फर्किएपछि पोखरेलले भने ।
शुक्रबार दिउँसो सोलुखुम्बुको खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात् बाढी आएको थियो । बाढीले थामे गाउँ नै बगायो । यसरी माथिल्लो क्षेत्रमा हिमताल फुट्न थालेपछि दूधकोशी नदीको तल्लो तटीय क्षेत्रका विभिन्न जलविद्युत् आयोजना र मानवबस्ती जोखिममा परेका छन् । थामे खोलामा आएको बाढीले दूधकोशीमा पानीको सतह पनि बढाएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । उनले थामेभन्दा माथिका पाँचवटा हिमतालमध्ये दुईवटा फुटेको र थप दुईवटा फुट्ने जोखिममा रहेको बताइन् । त्यसको असर दूधकोशी नदीमा पर्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सूचित गएिको उनले जानकारी दिइन् ।
शुक्रबारको बाढीले थामे बस्तीमा रहेका विद्यालय, होस्टेल, मेडिकल क्लिनिक, स्थानीयका घर तथा होटललगायतका भौतिक संरचना नष्ट भएका छन् । बाढीका कारण थामेका स्थानीय ५५ वर्षीय नुरुटुडु शेर्पा बेपत्ता छन् । नेपाली सेना र नेपाल प्रहरीले क्षतिग्रस्त स्थानमा जोखिममा परेका स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको प्रजिअ खत्रीले बताइन् । वर्षौं पहिले हुँगामा बाढी आएको थियो । त्यसबेला पनि खुम्बु क्षेत्रको हिमताल र हिमपहिरोबाटै आएको अनुमान गरिएको थियो । तर, वैज्ञानिक अध्ययन नगरिएको प्रजिअ खत्रीले बताइन् ।
त्यो बाढीको ठीक १३ वर्षपछि २०५५ भदौ १८ मा दूधकोशीकै सहायक नदी इङखुको मुहान खुम्बु क्षेत्रबाटै हिमताल फुटेर बाढी आएको थियो । सोताङ र बुङतिरबाट उर्लिएर आएको इङखुले दूधकोशी नदी थुनेको थियो । २०५५ भदौको बाढी त्यसअघिको भन्दा विनासकारी रहेको र त्यसले सोलु, ओखलढुंगा र खोटाङका तटीय क्षेत्रमा हजारौं हेक्टरको खेतबारी, बस्ती र भौतिक संरचना सखाप पारेको थियो ।
अहिले पनि सोलुको खुम्बु क्षेत्रको इम्जा अति जोखिमपूर्ण हिमताल मानिन्छ । जुन इसिमोड र युएनडिपीले गरेको संयुक्त अध्ययन प्रतिवेदनले पनि औंल्याएको छ । त्यही क्षेत्रमा गोक्यो, दूधकुण्डलगायत दर्जनौं ठूला हिमताल छन् । ती हिमतालहरूलाई पनि जोखिमपूर्ण नै मान्ने गरिन्छ ।