काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भिजिट भिसामार्फत जोखिम मोलेर तेस्रो मुलुक जाने नेपालीहरुको संख्या बढेको बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले वैदेशिक रोजगार व्यवसायीले ल्याएका कामदारको मागपत्र प्रमाणीकरण नगर्दा जोखिम मोलेरै भए पनि भिजिट भिसामा तेस्रो मुलुक जाने नेपालीको संख्या बढ्दो क्रममा रहेको बताएका हुन् ।
अहिले खाडी मुलुकहरुबाट आउने कामदारको मागपत्रमात्रै प्रमाणीकरण भइरहेको जानकारी दिँदै अध्यक्ष भण्डारीले युरोप, जापान, इजरायलजस्ता देशबाट आएको मागपत्र प्रमाणीकरण हुन नसकेको बताए । ‘आठ÷दश महिनादेखि खाडी र मलेसियाबाहेक अन्य देशबाट आएको कामदारको मागपत्र प्रमाणीकरण हुन सकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा नेपालीहरु जोखिम मोलेरै भए पनि भिजिटमा तेस्रो मुलुक जाने र त्यहाँबाट कामका लागि जापान, युरोपलगायतका देशमा जाने क्रम बढेको छ ।’
अध्यक्ष भण्डारीले वैदेशिक रोजगारमा जानेको लागतका विषय पनि कुनै निश्चित नभएको बताए । ‘फ्रि भिसा, फ्रि टिकट’मा वैदेशिक रोजगारीमा जाने व्यवस्था भए पनि कार्यान्वयन हुन नसक्ने अवस्था रहेको भन्दै सेवा शुल्कसहित लागत निर्धारण गर्नुपर्ने बताए ।