काठमाडौं- काठमाडौंमा असोज १० देखि नेपाल हस्पिटालिटी कन्क्लेभको आयोजना हुने भएकाे छ । नेपालको आतिथ्यता क्षेत्रकोविकास एवं प्रवद्र्धनमा टेवा दिने उदेश्यका साथ नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ को आयोजना हुने आयाेजकले एक कार्यक्रम गरी जनाएकाे हाे ।
काठमाडौं बुढानीलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा आयोजना हुने यस कार्यक्रमले होटल संचालक, सम्भावित लगानीकर्ता, नीति-निर्माता, नियामक, विज्ञ, नेपालमा संचालित विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय होटलहरुको नेतृत्ववर्ग, सेवाप्रदायक लगायत क्षेत्रसँग सम्बन्धित करिब २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरुलाई एकै छानामुनी ल्याउने छ ।
दुईदिनसम्म चल्ने यस कार्यक्रमको क्रममा नेपालमा होटलहरुको वर्तमान अवस्था, समस्या एवं चुनौतीहरु, नयाँ चालचलन एवं अभ्यासहरु, नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारी लगायतआतिथ्यता क्षेत्रसँग सम्बन्धित विविध विषयहरुमा घनिभूत छलफल हुनेछ ।
होटल एसोसियसन नेपालसँगको सहकार्यमा बिनस्टक एसिया नेपाल, बाटरकम र नेपाल ट्राभलरको साझदारीमा आयोजना हुन गइरहेको दोश्रो संस्करणको कन्क्लेभले होटल क्षेत्रसँग सम्बन्धीत ज्ञान, शिप, रणनीति तथा विचारहरुको आदानप्रदानको लागि साझा मञ्च प्रदान गर्ने हुनाले पनि होटल तथा आतिथ्यता व्यवसाय एवं समग्र उधोगको बारेमा जान्न, बुभन र शिक्न चाहने जोकोहिको लागि पनि यस कार्यक्रम उपलब्धीमुलक हुने आयोजनकहरुले विश्वास लिएको जानकारी दिएका छन् ।
नेपाल सरकारले सन् २०२५ लाई 'विशेष पर्यटन वर्ष' र वि सं २०८० को दशकलाई 'नेपाल पर्यटन दशक' घोषणा गरेको परिप्रेक्षमा आयोजित हुन गइरहेको यस कन्क्लेभको महत्व अझ थप भएको पनि आयोजनकहरुको भनाई रहेको छ ।
'नेपालको आतिथ्यता क्षेत्रको भविष्यको मार्ग तय गर्नको लागि यो कार्यक्रम एक रणनीतिक मञ्च हुनेमा हामी विश्वस्त छौं, 'विनस्टक एसिया नेपालको सहसंस्थापक तथा नेपाल हस्पिटालिटि कन्क्लेभको प्रमुख संयोजक सुबाेध थापाले बताए,'नेपालको होटल क्षेत्रमा पछिल्लो समय आइरहेको बृहतस्तरको लगानी, दिगो अभ्यासहरुको बढ्दो आवश्यकता र यस क्षेत्रभित्र तिव्र बन्दै गइरहेको प्रतिस्पर्धाको पृष्ठभूमीमा यस कन्क्लेभको अझ महत्वपूर्ण भएको छ ।'
'यस महत्वपूर्ण कार्यक्रमको आयोजनामा सहकार्य गर्न पाउँदा होटल एसोसियसन नेपाल परिवार उत्साहित छ । कार्यक्रमको दौरान हुने छलफल एवं विचारविमर्शले नेपालको सेवा क्षेत्रलाई थप उचाइ दिन सघाउ पुग्ने मैले विश्वास लिएको छु' होटल एसोसियसन नेपालका अध्यक्ष विनायक शाहले बताए ।
कन्क्लेभले नेपालको आतिथ्यता क्षेत्रले हाल भोग्दै आएको समस्याहरुको निवारण गरी यसलाई थप मजबुत एवं संस्थागत बनाउन अवलम्बन गरिनुपर्ने उपाय तथा चालिनुपर्ने कदमहरुमाथि जोड दिँदै सरकारलाई विभिन्न सुझावहरुसहितको श्वेतपत्र पनि बुझाउने छ। कन्क्लेभको संरचना सोही उदेश्यअनुसार निर्माण गरिएको बताइएको छ।
कन्क्लेभको क्रमका आथित्यता क्षेषबारे लामो अवधीको बृहत ज्ञान तथा अनुभव भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रस्तुतकर्ताहरुले यस क्षेत्रसँग सम्बन्धीत विविध विषयहरुमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।