- दुई छाक नै भात खाँदा शरीरका लागि आवश्यक सबै खालका पोषकतत्वको अभाव
- भातमा ग्लुकोजको मात्रा बढी हुने र रगतले नियन्त्रण गर्न नसक्ने हुँदा सुगर बढ्ने समस्या
- भातकै कारण मोटोपनाजस्ता समस्या निम्तिने
काठमाडौं– मोरङको बेलबारीकी आशा ज्ञाङ्मी मगरको तौल अल्कपनीय ढंगले बढ्यो । सात वर्षअघिसम्म ५० किलो तौल भएकी उनको तौल अहिले ९५ किलो छ । मोटोपनाले सताएकी उनी गत असारको दोस्रो साता नजिकैको काठमाडौं मेडिकल कलेज (केएमसी) गइन् । त्यहाँ परीक्षण गराउँदा डाक्टरले मोटोपनको कारण भात भएको बताए ।
उनले प्रभावसँग भनिन्, ‘मलाई छिनछिनमै भोक लाग्ने । के खाउँ के खाउँ हुने । यस्तो भएको केही वर्ष भयो । अनि, म त बिहान बेलुका टन्न भात खान्थें । चेक गराउँदा त डाक्टरले भातकै कारण यस्तो (मोटोपना) हुन्छ रे ।’
काठमाडौंको गोठाटारका ५७ वर्षीय देवीचन्द्र स्याङ्बालाई गत वैशाखको अन्तिमतिर एकदमै गलेको महसुस भयो । तीर्खा उत्तिकै लागिरहने भयो । अझ रातको समयमा पहिलेभन्दा धेरै पिसाब लाग्न थाल्यो । यसपछि उनी सिभिल अस्पताल बानेश्वरमा गए । त्यहाँ स्वास्थ्य परीक्षण गराउँदा सुगरको मात्रा ३२० (खानापछि) रहेको चिकित्सकले बताए । हाल उनी नियमित औषधि सेवन गर्दै आएका छन् ।चिकित्सकको कुरा उद्धृत गर्दै भने, ‘तपाईं बिहान बेलुका दुईचोटि नै भात खानुहुन्छ ? मैले हो भनेँ । त्यही भएर सुगर बढ्यो तपाईंको भन्नुभयो ।’
घरमा दिनमा दुईपटक भात खानु सरासर गलत हो । भात खानेबित्तिकै चाँडै ग्लुकोजमा परिणत हुन्छ । रगतमा ग्लुकोजको बाढी भएर बग्छ । त्यसलाई रगतले नियन्त्रण गर्न सक्दैन । कालान्तरमा सुगरको मात्रा बढ्छ ।
डा. बाबुराम मरासिनी
जनस्वास्थ्यविद्
उसो त नेपाली खानामा दालभात तरकारी मेन्यू नै भइसकेको छ । ‘दालभात तरकारी, जागिर सरकारी’ पनि भन्ने गरिन्छ । यसको मतलब अधिक नेपालीको जोडबल भातमै छ । यसरी भातै खान जोडबल हुँदा पछिल्ला वर्षहरूमा ‘खानदानी रोग’ भनिने सुगरका पीडितहरू हरेकजसो घरमा देखिन थालेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए । ‘नेपाली समाजमा कस्तो देखिन्छ भने हरेकजसो घरमा दिनमा दुईपटक भात खाने चलन छ । यो सरासर गलत हो,’ उनले भने, ‘त्यसरी खानेहरूमध्ये धेरै बिरामी छन् । किनभने भात खानेबित्तिकै चाँडै ग्लुकोजमा परिणत हुन्छ । हाम्रो आन्द्राले चाँडै पचाउँछ । रगतमा ग्लुकोजको बाढी भएर बग्छ । त्यसलाई रगतले नियन्त्रण गर्न सक्दैन । कालान्तरमा सुगरको मात्रा बढ्छ । कसैको अधिक तौल हुन्छ ।’
उनका अनुसार हरेक छाक भात खाँदा शरीरका लागि आवश्यक पोषक तत्वहरू पुग्दैन । भातमा सर्वाधिक पाइने भनेकै कार्बोहाइड्रेट हो । शरीरलाई भने प्रोटिन, फ्याट, भिटामिन एवं मिनरल्स र फाइबर आवश्यक छ । यी सबै पोषकतत्व हुन् । पोषणको क्षेत्रमा लामो समयदेखि क्रियाशील अर्का जनस्वास्थ्यविद् अरुणा उप्रेतीका अनुसार पोषणजन्य समस्याकै कारण नेपालमा मुख्यतः नसर्ने रोगहरूको जोखिम बढिरहेको छ । नसर्ने रोगमा सुगर, मोटोपना, युरिक एसिडलगायत हुन् । तैपनि, नेपाली समाजमा ‘भात संस्कृति’ विद्यमान छ । मतलब अधिकांश नेपाली जहिल्यै भातमै मरिहत्ते गरिरहेका हुन्छन् ।
गत वर्ष कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार नेपालीहरू औसतभन्दा धेरै भात खान्छन् । अध्ययनले नेपालीहरू वार्षिक औसतभन्दा १६ किलो बढी चामल खाने गरेको देखाएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले भने एक व्यक्तिले प्रतिवर्ष औसत १२१ किलो चामल उपभोग गर्ने मापदण्ड बनाएको छ । तर, त्यसभन्दा बढी नेपालीले भात खाने गरेको देखिन्छ, जसले नेपालीहरूको ‘भातमोह’ उजागरसमेत गरेको छ ।
अन्ततः सन्तुलित आहार अर्थात् पोष्टिकतत्वयुक्त खानाको अभावमा पोषणजन्य समस्याबाट मानिसहरू प्रभावित छन् । पोषणजन्य समस्याहरू ठूलालाई सुगर (मधुमेह, चिनीरोग) र मोटोपना देखिने गरेको जनस्वास्थ्यविद् डा. मरासिनी बताउँछन् । उनका अनुसार किशोरी वा गर्भवती महिलाहरूमा भने रक्तअल्पताको समस्या देखिने गरेको छ । बालबालिकामाचाहिँ कुपोषणको समस्या देखिने गरेको छ । कसैकसैमा युरिक एसिड देखिने गरेको छ । यसले गर्दा पनि भातमात्रै नभएर पौष्टिकतत्वयुक्त खानपानमा ध्यानदिनुपर्ने मरासिनीले बताए । स्वास्थ्यको हिसाबले भातमात्रै चाहिँ ‘ब्याक्टेरियाजस्तो’ हुने उनको भनाइ छ । उनी भन्छन्, ‘यस्तो खानपानमा नसुधारिए एकातिर नसर्ने रोगको सिकार हुने र अर्कातिर चाँडै बुढ्यौलीपन देखिने हुन्छ । जसकारण भातमात्रै नसोचेर अरू पौष्टिकयुक्त खानपान मिलाएर सन्तुलित भोजन खानेतर्फ पनि सोच्नुपर्छ ।’
शरीरलाई स्वस्थ राख्न र स्फूर्ति राख्न सन्तुलित भोजन खानुपर्छ । त्यस्तो भोजनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै विभिन्न रोगबाट शरीरलाई सुरक्षा प्रदान गर्ने र शरीरको वृद्धिविकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ । त्यही भएर डा. मरासिनी पोषण मिलाएर खान सुझाउँछन् ।उनले पोषकतत्वका लागि उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनु उत्तम हुने सुझाव दिए । त्यसपछि खाजाको रूपमा फलफूल, ओट्स, चिउरा र दूध खाँदा हुन्छ । घरमै बनाएको रोटी र चिया खान सकिन्छ । ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता सुख्खा खाद्यपदार्थ खाँदा पनि हुन्छ ।
बिहानको खाना दाल–भात–तरकारी खाँदा पनि हुने तर तरकारीका रूपमा हरियो सागपात खानुपर्ने पनि डा. मरासिनीको सुझाव छ । यसबाहेक गाँजर, काँक्रा, मुला, प्याज मिलाएर सलाद अनिवार्य खानु पनि पोषणको दृष्टिले ठीक हो । पानी पनि प्रशस्त पिउनुपर्छ । दिउँसो भने कार्बोहाइड्रेट कम र प्रोटिन धेरै भएको खानेकुराहरू भुटेको चना, भटमासजस्ता खानेकुरा खानु उपयुक्त हुन्छ । बेलुकीचाहिँ रोटी खानु उपयुक्त हुन्छ । तर, तरकारी तथा सागसब्जी अनिवार्य समावेश गर्नुपर्ने डा. मरासिनीले बताए । यसरी दिनमा पोषणयुक्त खानपान गरिए पोषणजन्य स्वास्थ्य जटिलताहरू ननिम्तिने पनि डा. मरासिनीको दाबी छ ।
२०७३ सालमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग र बालस्वास्थ्य महाशाखासँगै कृषि मन्त्रालयअन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालीका लागि असल खानपानसम्बन्धी मार्गदर्शन जारी गरेको छ । त्यहाँ पनि हरेक दिन थरिथरिका खानपान गर्न, फलफूल र हरिया सागपात अनिवार्य खान, माछा मासु, अण्डा, दूध दहीमध्ये केही न केही खान सुझाइएको छ । तर, यसविपरीत भातमै जोडबल गर्नेहरू अधिक छन् ।